काठमाडौं (अस) । चालू आर्थिक वर्षको ६ महीनामा स्थायी लेखा नम्बर लिने करदाता संख्या ४४ लाख ८८ हजार नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार पुस मसान्तसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४४ लाख ८८ हजार २ सय ६५ पुगेको हो ।
यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १७ लाख २२ हजार ४६३ अर्थात् ३८ दशमलव ३ प्रतिशत, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २७ लाख ५१ हजार ९ सय ९० (६१ दशमलव ३ प्रतिशत) र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १३ हजार ८१२ (शून्य दशमलव ३ प्रतिशत) पुगेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ९ हजार ३९ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १४ हजार ९०८ पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७ दशमलव २४ प्रतिशतले बढेको छ ।