काठमाडौं । भाइटीकाको दिन मात्रै खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । कारण हो- भाइटीका लगाउन । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले यहाँ पुगेर आज बिहानैदेखि भाइटीका लगाउन थालेका छन् ।
भाइटीकाको शुभ साइत भने आज बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।