नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) मा रहनुभएका नेताहरु सांसद पदबाट पदमुक्त हुनुभएपछि उजुरी दिन निर्वाचन आयोग जाने तयारी गर्नुभएको छ । माओवादी केन्द्र पार्टी नै अवैधानिक भएकोभन्दै उहाँहरुले अवैधानिक पार्टीले गरेको कारवाही फुकुवाको माग गर्दै आयोग जाने तयारी गर्नुभएको हो ।
निर्वाचन आयोगमा जाने सबै प्रक्रिया र तयारी पूरा भएपनि सर्वोच्च अदालतको फैसला कुरेर मात्र आयोग जाने नेताहरुको तयारी रहेको पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव केशव रायमाझीले जानकारी दिनुभयो ।
“निर्वाचन आयोग जाने सबै तयारी र प्रक्रिया पूरा भएर नेताहरु बस्नुभएको छ, सर्वोच्च अदालतको फैसला के आउँछ त्यो हेरेर मात्र उजुरी दिने–नदिने टुङ्गो लाग्छ” उहाँले भन्नुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाबारेको फैसला असार २८ गते सुनाउने भएको छ । “सर्वोच्च अदालतले निर्वाचनमा जाने फैसला गरेमा आयोग जानुको अर्थ रहँदैन, तर प्रतिनिधिसभा पुनस्र्थापना भएमा सर्वोच्च अदालत र आयोग दुवै ठाउँमा उजुरी लिएर जाने तयारी भएको छ” रायमाझीले भन्नुभयो ।