काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सव अवसरमा छुटै छुट योजना सार्वजनिक गरेको छ । आउँदो वैशाख ७ गते पर्ने १५ औं वार्षिकोत्सवलाई लक्षित गरी बैंकले चैत ७ देखि वैशाख ७ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा–सुविधामा छुट र क्यासब्याकलगायत योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय रुपैयाँ क्यासब्याक पाउनेछन् । पहिलो पटक क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकका लागि १ सयको क्यासब्याक दिइने बैंकले बताएको छ ।
यस्तै, ईकम कार्ड प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले योजना अवधिभर ईकम कार्ड लिने ग्राहकलाई निःशुल्क उपलब्ध गराउनेछ । ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता सुविधाका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिनेछ । यस प्रकारका सेवाबाट ग्राहक लाभान्वित भई डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।