दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुर इको ट्रेकमा सिँढी निर्माण गरिएको छ । पदयात्रा गर्दै तनहुँसुर पुग्ने पदयात्रीको सजिलोका लागि उक्त ट्रेकमा सिँढी निर्माण गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सिँढी निर्माण थालिएको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए । वडाका बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिने उद्देश्यसहित दश जनाले यो कामका लागि रोजगारी पाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सिँढी निर्माणका लागि यो वर्ष पाँच लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट ३२० मिटर सिँढी निर्माण गरिनेछ । गतवर्ष ६ लाख बजेटमा तीन सय मिटर सिँढी निर्माण भइसकेको छ । जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गत वर्षमात्रै तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको थियो ।
‘सिँढी निर्माणसँगै पदयात्रा गर्नेलाई सहज रूपमा तनहुँसुरसम्म पुग्न सजिलो हुन्छ,’ वडाध्यक्ष खड्काले भने । वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गएको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञ सहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको थियो । मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुद्र सतहबाट पाँच सय मिटरको उचाइबाट शुरू हुने र एक हजार दुई सय ५० मिटरको उचाइमा समाप्त हुनेछ ।
पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाहरूको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप, गद्दी चौतारा, सिढी चौतारी, ढुंगेसाँगु, फूलपाती ढुंगा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुंगा, शहीद पार्क, ऐनापहरा, छाप लगाउने ढुंगा अवलोकन गर्न सकिन्छ ।
पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करिब चार किमी मोटरयात्रा, त्यसपछि चमेरेगुफा–भगवतीपानी मन्दिर–तनहुँसुर देवस्थल सामुदायिक घरवास हुँदै तनहुँसुर गढीसम्म पदयात्रा गर्न सकिनेछ । ट्रेक स्थापनाका लागि विगत केही वर्षदेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्ग्यानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण, प्रवर्द्धन लगायत विषयमा प्रशिक्षण दिइँदै आएको थियो ।
धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो पदयात्रा अति नै सजिलो रहेको पर्यटनविद् हरिसिंह गुरुङले बताए । ‘हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिक स्थलहरू, पुरातात्त्विक सम्पदा पनि समेटिएकाले यो बाटो उत्कृष्ट हुनेछ,’ उनले भने ।
उक्त मार्गमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायत धार्मिक सम्पदाहरूलाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुंगी लगायत विविधतालाई संरक्षण गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
पछिल्लो समय तनहुँसुर पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । ऐतिहासिक तनहुँसुर भ्रमणका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पदयात्रा गरेर पुग्नेहरूलाई तनहुँसुरमा दुईवटा घरबासको सुविधा छ । तनहुँसुरमा सर्वसाधारणको आगमन हुन थालेपछि यहाँका स्थानीयवासी घरबास सञ्चालनमा कस्सिएका छन् । तनहुँसुर सामुदायिक घरबास र तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरेर स्थानीय पाहुनाको स्वागतका लागि आतुर छन् । रासस