चैत १, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य ५ दशमलव १३ प्रतिशत घटेको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६२६ मा झरेको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।
कम्पनीले मंगलवार मात्रै गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै मंगलवार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. ३४ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
नेपाल दूरसञ्चार कम्पनी बाहेक मैलुङखोला जलविद्युुत कम्पनीको शेयरमूल्य ४ दशमलव ८६ प्रतिशत घटेर प्रतिकित्ता रू. ६५२ कायम भएको छ ।