जेठ १९, वीरगञ्ज । पर्सामा जारी निषेधाज्ञा जेठ ३० गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बुधवार बसेको बैठकले निषेधाज्ञा पुनः थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए ।
कोरोना संक्रमण नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा यसअघि पटकपटक थपेर जेठ २० गतेसम्म पुर्याइएको थियो । कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रशासनले बताएको छ ।
महामारी नियन्त्रणका लागि लागू गरिएको आदेश पालना गर्नु सबैको कर्तव्य भएकाले आदेशविपरीत काम कारवाही गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ ।
औषधी उपचार र आदेशले अनुमति दिए बाहेक घरबाहिर निस्किएर निषेधाज्ञा उल्लंघन गरेमा कानूनअनुसार कारवाही हुने चेतावनी प्रशासनले दिएको छ ।