बजेट नपुग्दा निर्माण व्यवसायीले पाएनन् भुक्तानी

काठमाडौं । कात्तिक १ गते अर्थ मन्त्रालयले सम्पन्न भइसकेको कामको भुक्तानी दिन सम्बद्ध मन्त्रालयलाई स्वीकृति दिँदा उत्साहित भएका निर्माण व्यवसायी अहिले निराश छन् । गत आर्थिक वर्ष (आव) २०७९/८० मै सम्पन्न गरेको कामको बिल पेश गरेका उनीहरूले चालू आवको पहिलो त्रैमास सकिँदासम्म सोको भुक्तानी पाउन सकेका छैनन् ।  अर्थ मन्त्रालयले चालू आवका लागि विनियोजित शीर्षकगत बजेटबाट गतवर्षको भुक्तानी दिन विकासे मन्त्रालयलाई स्वीकृति दिएको हो । तर, चालू आवका लागि विनियोजित शीर्षकगत बजेट कम हुँदा व्यवसायीले भुक्तानी पाउन नसकेको सम्बद्ध अधिकारीले बताए । सबैभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट नपुगेर भुक्तानी दिन नसकेको बताएको छ । मन्त्रालयका एक अधिकारीले भने, ‘अर्थले चालू आवका लागि विनियोजित बजेटबाट गत आवको भुक्तानी व्यवस्थापन गर्नू भनेर स्वीकृति दियो, तर चालू आवकै शीर्षकगत बजेट कम भएकोले सबै भुक्तानी दिन सकिएको छैन ।’  सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेलले उदाहरण दिँदै भने, ‘चालू आवमा एउटा पुलका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ, अनि गत आवकै ५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने सडक विभागले १ करोड रुपैयाँ मात्रै भुक्तानी दिन सक्ने अवस्था हुन्छ । बाँकी ४ करोड रुपैयाँ सम्बद्ध व्यवसायीले पाउँदैनन् ।’ विनियोजित बजेट कम हुँदा र गत आवको भुक्तानीका लागि छुट्टै तथा थप बजेट नहुँदा अर्थ मन्त्रालयको लिखित निर्देशनपछि पनि व्यवसायीले भुक्तानी पाउन नसकेका हुन् । गतवर्ष सम्पन्न भएका कामका लागि छुट्टै तथा थप बजेट विनियोजन नभएको र अहिलेकै विनियोजित बजेट अपुग हुँदा समस्या भएको उनले बताए । अहिलेको समस्या समाधानका लागि दुईओटा विकल्प रहेको भन्दै पोखरेलले थपे, ‘जस्तै पुलसम्बन्धी सबै परियोजनाका लागि भनेर विनियोजन गरेको बजेट जुनसुकै पुल योजनामा खर्च गर्न सकिने व्यवस्था गरिनुपर्छ । अर्काे थप बजेट निकासा गरिनुपर्छ । यो नभएसम्म व्यवसायीलाई रकम भुक्तानी गर्न सकिँदैन ।’ निर्माण व्यवसायीले भने सरकारले भुक्तानी स्वीकृति दिँदा सिजनमा काम गर्न सकिने उत्साह जागे पनि कार्यान्वयन नहुँदा निराश भएको बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले झुक्याउँदै आएको बताए । कात्तिक १ गते सरकारले निर्णय गरे पनि यो अवधिसम्म भुक्तानी नपाएको उनको भनाइ छ ।  ‘सरकारले भुक्तानी दिन्छौं भनेर फुकुवा गरेको अवस्था हो,’ उनले भने, ‘बजेट भएका निकाय तथा आयोजनाले भुक्तानी दिन बाटो खुल्यो तर अधिकांशसँग बजेट नै नभएर समस्या भइरहेको छ ।’ यो राष्ट्रिय समस्या भएकाले सरकार र निर्माण व्यवसायी सहकार्यबाटै अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले पूँजीगत बजेट खर्च नभए अर्थतन्त्र चलायमान नहुने र निर्माण व्यवसायका साथै अन्य सहायक उद्योग (सिमेन्ट, डन्डीलगायत) पनि अप्ठ्यारोमा पर्ने बताए ।

सम्बन्धित सामग्री

भुक्तानी नपाएपछि सडक निर्माण अलपत्र

ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काम बजेट अभावले अलपत्र भएको छ । निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी नपाएपछि सडक कालोपत्रे निर्माणको काम अलपत्र बनेको हो । फुङ्लिङ नगरपालिकास्थित मेची

निर्माण व्यवसायीलाई ४० अर्ब भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट महाशाखालाई भनिएको छ । विकास निर्माणको काम गरेका निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् । उनीहरुले सरकारबाट करिब ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । […]

निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो

काठमाडौं। सरकारी ठेक्कापट्टाको सम्पन्न गरेबापतको रकम भुक्तानी नपाएका निर्माण व्यवसायीले भुक्तानी पाउने बाटो खुलेको छ । अर्थ मन्त्रालयले कात्तिक १ गते विकासे मन्त्रालयहरूलाई भुक्तानी दिने नीतिगत निर्णय गरेसँगै निर्माण व्यवसायीले गत आर्थिक वर्ष (आव) २०७९/८० को बिल पेश भइसकेको रकमको भुक्तानी पाउने भएका हुन् । निर्माण व्यवसायीले पाउने त्यस्तो रकम ६ अर्ब रुपैयाँ छ । बुधवारको मन्त्रीस्तरीय बैठकले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी र शहरी विकास मन्त्रालयले उक्त वर्षको भुक्तानी दिन सक्ने नीतिगत निर्णय गरेको हो । उल्लिखित मन्त्रालयका सम्बद्ध निकाय (विभागहरू)बाट आव २०७९/८० सृजित भएको र उक्त वर्षमा भुक्तानी हुन नसकेको रकम भुक्तानी गर्न सक्ने उल्लेख गरेको छ ।  मन्त्रालयले बजेटरी सहायताअन्तर्गत तेस्रो त्रैमासिकसम्म विनियोजन रकम वैदेशिक स्रोत प्राप्त नभएमा सरकारको स्रोतबाट हिसाब मिलान गर्नेगरी तेस्रो त्रैमासिकसम्म स्रोत फुकुवा गर्ने उल्लेख गरेको छ । अर्थ मन्त्रालयले भुक्तानी खुला गरे पनि निर्माण व्यवसायीले रकम पाइहाल्ने अवस्था भने छैन । बुधवार निर्णय गरे पनि दशैं लागिसकेको हुँदा अहिले नै व्यवसायीले रकम पाइहाल्ने छैनन् ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जुनजुन निकायमा बजेट छ, त्यहाँबाट रकम भुक्तानी पाउने अवस्था हुने भए पनि शुक्रवार १ दिनमात्रै सम्बद्ध कार्यालय खुल्ने र दशैं बिदा हुने भएकाले यो निर्णयले तत्काल असर नदेखाउने बताए । ‘अहिले रकम पाउने अवस्था नभए पनि दशैंपछि पाउन सक्ने बाटो खुला भएको छ,’ सिंहले भने, ‘यसले राहत त दिएको छ तर निर्माण क्षेत्र चलायमान गराउने हो भने म्याद थप गर्नुपर्ने र माइलस्टोन हटाउने काम गर्नुपर्छ ।’ उनका अनुसार यो रकम सबै मन्त्रालयले दिनुपर्ने भुक्तानी हो । सबैभन्दा धेरै रकम पौने ५ अर्ब रुपैयाँ भौतिक मन्त्रालयको छ । असार मसान्तमा बिल बुझाएको यो रकम ३ महीनापछि पाउन लागेको उनको भनाइ छ । यद्यपि सरकारले म्याद नथप्दा काम सम्पन्न भइसकेको ४० अर्ब रुपैयाँ भने पाउन नसकेको उनले बताए । ‘उक्त रकम प्रोजेक्ट म्यानेजरले भेरिफाई नगरेको तर काम सम्पन्न भइसकेको हो,’ उनले भने, ‘काम सम्पन्न भइसकेको रकम पाउन भुक्तानीयोग्य भनेर प्रमाणित गर्नुपर्ने हुन्छ तर त्यो काम बाँकी छ ।’   शुक्रवार १ दिनमात्रै सम्बद्ध कार्यालय खुल्ने र दशैं बिदा हुने भएकाले यो निर्णयले तत्काल असर नदेखाउने  चालू आवको अवस्था झन् विकराल हुने देखिएको उनले बताए । पहिला–पहिला रकम भुक्तानी पाइहाल्ने अवस्था थियो । अहिले ढुक्क हुने अवस्था नभएको उनको भनाइ छ । असोज मसान्तले बैंकको किस्ता र ब्याज तिर्नुपर्ने, दशैंमा कर्मचारीलाई भुक्तानी दिनुपर्ने भएकाले टर्चरकै अवस्था भएको व्यवसायी बताउँछन् । अब दशैंलगत्तै काम हुने सिजन शुरू भए पनि निर्माण व्यवसायी उत्साहित छैनन् । बजारमा माग नहुँदा कारखानाहरू पनि सञ्चालन नभएको र अहिले खपत गरेको निर्माण सामग्रीको रकम उद्योगलाई भुक्तानी दिन नसकेको सिंहले बताए ।  नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समिति सभापति राजेश अग्रवालले बजारमा माग नै नहुँदा सिमेन्ट र छडको खपत नै नभएको बताए । श्री स्टीलका सञ्चालकसमेत रहेका उनले भने, ‘घर बनाउने काम ठप्पै छ । विकासका काम पनि भएका छैनन् । फाट्टफुट्ट काम भएको छ, जुनसुकै सूचकहरू राम्रो भए पनि, भाषण गरे पनि बजारमा छड सिमेन्टको माग नै छैन ।’ उनले पहिला क्षमताको ५० प्रतिशत उत्पादन गरेको र अहिले २० प्रतिशतमाा झरेको बताए । श्री स्टीलको मासिक उत्पादन क्षमता २० हजार मेट्रिक टन छ । उत्पादनमा कुनै समस्या नभए पनि बजारमा माग नहुँदा मासिक जम्मा ३/४ हजार मेट्रिक टन विक्री भइरहेको उनको भनाइ छ । ‘अहिलेको अवस्थाप्रति सरकार गम्भीर नै भएन,’ उनले भने, ‘सूचकांक राम्रो भए पनि बजारमा माग छैन । ब्याजदर उच्च हुँदा व्यवसाय किन गर्ने भन्नेमा व्यवसायी छन् ।’ मुद्दती खातामा राख्दा नै राम्रो ब्याजदर आउँछ भने बजारमा पैसा किन ल्याउने भन्ने सोच पनि हाबी भएको उनको भनाइ छ । उद्योग, व्यवसाय गर्नेलाई ७/८ प्रतिशतमा ऋण दिनुपर्ने भन्दै उनले अहिले आन्तरिक बजार नभए पनि सिमेन्ट निर्यातको परिणाम बढेको बताए । अहिले मासिक २ लाख बोरा सिमेन्ट भारत निर्यात भएको छ । यस्तै शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्माले सरकारले दशैंअघि भुक्तानी दिन्छौं भनेको विषय कार्यान्वयन ढिलो गरेको बताए । ‘भुक्तानीका लागि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले समिति नै गठन गरे पनि अहिलेसम्म रकम पाएका छैनौं,’ उनले भने, ‘कर्मचारीतन्त्रबाट काम नहुँदा भुक्तानीमा समस्या भएको छ, चालू आवको ३ महीना भइसक्दासमेत भुक्तानी पाएका छैनौं ।’ आफ्नो कम्पनीको भुक्तानी २७ करोड रुपैयाँ पाउन बाँकी रहेको भन्दै उनले थपे, ‘अहिले व्यवसाय बामे सरेको अवस्थामा छ, सरकारले दशैं र तिहारको बीचमा भुक्तानी दिएर एक किसिमको माहोल बनाइदिए राम्रो हुन्छ । नत्र समस्या जहाको तहीँ हुन्छ । विकास बजेट यो वर्ष न्यून छ, त्यसमा पनि खर्च नहुने अवस्था झनै समस्या हो ।’ चालू खर्चका लागि नै राज्यको स्रोत बढी उपयोग हुँदा विकास निर्माण तथा बजारमा माग कसरी हुन्छ भन्दै उनले सिमेन्ट उत्पादकले पनि क्षमताको जम्मा २० प्रतिशत मात्रै उत्पादन गरिरहेको जानकारी दिए ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी शुभा श्रेष्ठले अर्थ मन्त्रालयले निर्णय गरे पनि पत्र आइनसकेको बताइन् । भुक्तानीको पत्र आएपछि र बजेट फुकुवा भएपछि मात्रै निर्माण व्यवसायीलाई बिल पेश गरेअनुसार भुक्तानी दिइने उनले बताइन् । ‘दशैंका कारण शुक्रवार मात्रै कार्यालय खुला हुन्छ,’ श्रेष्ठले भनिन्, ‘यसबीचमा कति दिन सकिन्छ, मिलेसम्म दिन्छौं । रकम भुक्तानीका लागि जम्मा २/३ ओटा फाइल मात्रै स्वीकृत भएको पाइएको छ, मन्त्रालयले पेश गरेअनुसार सबै भुक्तानीका लागि स्वीकृति पाएका छैनौं ।’

निर्माण व्यवसायीको बक्यौता भुक्तानी  गर्न निर्देशन

काठमाडौैं। निर्माण व्यवसायीहरूले सरकारी काम गरेबापत पाउनुपर्ने बक्यौता भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा आयोजित समितिको बैठकमा सांसदहरूले निर्माण व्यवसायीको भुक्तानी ढिलो भएको विषयमा प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो । त्यस्तै ठेक्का सम्झौताअनुसार तोकिएको समय र गुणस्तरअनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भए पनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए । उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिकको ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकम नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा व्यवसायी सडकमा उत्रेका थिए ।  मन्त्री ज्वालाले सार्वजनिक खरीद ऐन संशोधन नहुने बताउँदै नयाँ ऐन ल्याउने तयारीमा सरकार रहेको पनि समितिलाई जानकारी दिए । अहिलेको ऐनले विकास निर्माणको काम अघि बढाउन सहज नभएको भन्दै उनले यो विषयमा प्रधानमन्त्रीसँग बुधवार पनि छलफल गरिएको जानकारी दिए । ‘पुरानोलाई संशोधन, डेन्टिङ पेन्टिङतिर हामी जाँदैनौं । नयाँ सार्वजनिक खरीद ऐन ल्याउने गरी काम अघि बढाइएको छ,’ उनले भने ।  बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विकास निर्माणको सुस्त गतिबारे प्रश्न उठाए । उनले विकासका बाधा हटाउन नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पूँजी परिचालन गर्नै नसकेको गुनासो गरे ।  मन्त्री ज्वालाले चाडपर्व लक्षित सडक मर्मतसम्भारका लागि बजेटको अभाव रहेको समेत बताए । बजेट अभावका कारण दशैंअघि नै सडक मर्मतसम्भार र यातायात व्यवस्थापनको काम भने जस्तो हुन सक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ छ । उनले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने पनि बताए । जथाभावी भाडा लिएर यात्रु ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने उनले चेतावनी दिए । यात्रुलाई बस भाडामा ठगिन नदिने गरी तीनओटै तहको सरकारले सहकार्य गरेर अनुगमन सशक्त बनाउने उनको भनाइ छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताए । बैठकले दशैंका बेला विद्यालय र क्याम्पसका बस खाली हुने भएकाले त्यसमा सरकारले आवश्यक सहयोग गरी मुख्य शहरबाट विद्यार्थी र अभिभावकलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

बहुवर्षीय सडक आयोजनामा बजेटकै पिरलो

जुम्ला– जुम्लासहित तीन जिल्ला जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । सम्झौता रकमभन्दा निकै न्यून रकम विनियोजित हुने निर्माण व्यवसायीले बिल उठाएअनुसार भुक्तानी पाउन सकेका छैनन् । मनाङ–मुस्ताङ–जुम्ला–डोल्पा जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भुक्तानीका लागि सडक विभागमा महिनौं दिन धाउनुपर्ने […]

पूर्वाधार निर्माण लगभग बन्द अवस्थामा

काठमाडौं। निर्माण व्यवसायीहरू विगत केही दिनदेखि निरन्तर आन्दोलनमा छन् । निर्माण सम्पन्न भएका साना–ठूला आयोजनाको भुक्तानी समयमै नपाएको, आयोजनाको म्याद एकमुष्ट नथपिएको, मूल्य समायोजन नगरिएको भन्दै आन्दोलन शुरू गरेका व्यवसायीले अहिले साइटमा काम पनि बन्द गरेको बताएका छन् ।  अहिले पूर्वाधार निर्माणका लागि अफ सिजन र माग पूरा नभएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा होमिँदा साइटमा काम हुन सकेको छैन । सार्वजनिक निकायका विभिन्न अड्डामा आन्दोलन तथा धर्ना दिँदै आएको नेपाल निर्माण व्यवसायी महासंघले यो क्रमलाई मंगलवार पनि निरन्तरता दिएको छ ।  मंगलवार व्यवसायीले प्रधानमन्त्री निवासनजिकै निर्माण उपकरण र प्लेकार्डसहित प्रदर्शन गरे । माग सम्बोधन नहुँदासम्म निरन्तर आन्दोलन गरिरहने महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।  काम गरिसकेको भुक्तानी लिन महीनौं कुर्नुपरेको गुनासो गर्दै उनले भने, ‘यी आधारमा म्याद थप्न कुरा प्रमाणित गर्नु परेन नि !’  १० अर्ब रुपैयाँ सरकारका विभिन्न मन्त्रालयबाट सिफारिश भएर अर्थ मन्त्रालयमा पुगेको र बाँकी ४० अर्ब रुपैयाँको सम्बद्ध निकायबाट बिल नै तयार नभएको जानकारी आएको भन्दै उनले अहिले पनि व्यवसायीले ५० अर्ब रुपैयाँ भुक्तानी नपाएको उल्लेख गरे । एकमुष्ट म्याद थप, भुक्तानी र मूल्य समायोजन नहुँदासम्म काम गर्ने वातावरण नहुने भन्दै सिंहले थपे, ‘अहिले साइटमा निर्माण ठप्प छ, मंगलवारसम्म तेस्रो दिन भयो । शुक्रवारसम्म आन्दोलनकै कार्यक्रम छ । त्यसैले पनि साइट लभगभ बन्द छ । यो मौसममा साइटमा काम नहुने भएकाले पनि ठप्पै छ ।’ आयोजनाको एकमुष्ट म्याद नथप्दासम्म निरन्तर आन्दोलन गर्ने उनले बताए ।  अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजना सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायत कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धि खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धिकरको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बद्ध सार्वजनिक खरीद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग महासंघले अघि सारेको छ । यता मंगलवार नै बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एकमुष्ट म्याद थप्न नसक्ने संकेत गरेका छन् । निर्माण व्यवसायीले एकमुष्ट सबै आयोजनाको म्याद थपलाई आन्दोलनको मुख्य एजेन्डा बनाएका छन् ।  यस विषयमा मन्त्री ज्वालाले भने, ‘सबै आयोजनाको म्याद र्‍यान्डम्ली थप्दा उपयुक्त हुँदैन । कामै नगर्नेको म्याद थप्दै जाने कुरा पनि ठीक होइन । प्रगति तथा अवस्थाका आधारमा म्याद थप्दै जाने कुराअनुसार म्याद थप भएको हो, निर्माण व्यवसायीलाई चित्त बुझेको छैन । तर, यही आधारमा म्याद थप अघि बढाइएको छ ।’ ‘पहिला जमानाका आयोजना जसमा काम नै भएको छैन भने बजेट पनि छैन, त्यस्ता आयोजनामा म्याद थपेर के अर्थ । यस्ता आयोजनाको छुट्टै समाधान निकाल्नुपर्छ । अरू प्रगतिका आधारमा म्याद थप्ने आदेश गरिएको हो । भुक्तानीका विषयमा हामी गम्भीर छौं,’ मन्त्री ज्वालाले भने ।  सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले निर्माण व्यवसायी आन्दोलनमै रहेको र मुख्य विषय भुक्तानीकै भएको बताए । भुक्तानी दिने विषयमा धेरै प्रयन्त भएको भन्दै उनले भौतिकको धेरै भए पनि ऊर्जा, खानेपानीलगायत निकायको भुक्तानी पनि हुन सक्ने बताए ।  सरकारले २ खर्ब ३७ अर्ब रुपैयाँ पूँजीगत खर्च गतवर्ष गरे पनि २ खर्ब रुपैयाँ असारमा आएर भुक्तानी गरेको महासंघका सिंहले बताए । ११ महीनामा सरकारले जम्मा ३७ अर्ब रुपैयाँ खर्च गरेको उनको दाबी छ । सरकारबाट निरन्तर भुुक्तानी नपाउँदा निर्माणमा बाधा भएको सिंहले बताए ।  महासंघले मंगलवार बिहान ९ बजेदेखि १० बजेसम्म बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि निर्माण उपकरण प्रर्दशन गर्दै धर्ना दिएको थियो । संघीय संसद् भवनअगाडि प्रदर्शन गर्ने भनिएका निर्माण उपकरण भने प्रशासनले जफत गरेपछि उनीहरूले दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना मात्र दिए ।  सिंहले व्यवसायीका जायज मागबारे सम्बद्ध निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर सडकमा ओर्लिएको बताए । महासंघका माग पूरा नभए सबै निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा उत्रने पनि उनले बताए ।

‘निर्माण व्यवसायीको ठूलो रकम रोकिँदा समस्या’

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान नभएको बताएका छन् । निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्ने विषयमा सरकार सकारात्मक समेत उनले बताएका छन् । आइतवार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँगकोे भेटमा उपाध्यक्ष श्रेष्ठले निर्माण उद्योगमा धेरै समस्या रहेको बताए । जग्गा प्राप्तिमा अप्ठ्यारो, बजेट तथा निर्माण सामग्रीको अभाव, समुदायको अवरोध लगायत समस्याबाट निर्माण व्यवसायी आक्रान्त रहेको उनको भनाइ थियो । ‘महासंघ जस्तो छाता संगठनले निर्माण व्यवसायीलाई अझ बढी जिम्मेवार बनाउन सक्ने भएकाले स्वकीय भूमिका अझ बढी प्रभावकारी हुनुपर्छ,’ श्रेष्ठले । भेटमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे उपाध्यक्ष श्रेष्ठलाई अवगत गराए । सरकारी कार्यशैलीकै कारण निर्माण उद्योग व्यावसायिक हुन नसकेको उनको भनाइ थियो । बजेटको व्यवस्था नगरी टेण्डर आह्वान गर्ने परिपाटी गलत रहेको भन्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीले आफ्नो मुलुकको स्रोतसाधन उपभोग गर्न नपाउने परिपाटी अन्त्य हुनुपर्ने उल्लेख गरे । सार्वजनिक खरीद ऐनअनुसार व्यवसायीले २० प्रतिशत मोबिलाइजेशन पेश्की पाउनुपर्ने माग पनि महासंघले राखेको छ । सो अवसरमा महासंघले पछिल्लो समयमा भएको मूल्यवृद्धिले मारमा परेका व्यवसायीले राहत नपाएको उल्लेख गरेको छ । राष्ट्रिय योजना आयोगले कसैको दबाबमा नपरी निर्भीक भएर काम गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ । निर्माण उद्योगको विकासका लागि आगामी बजेटमा समेटिनुपर्ने विषयबारे पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

‘बजेट सुनिश्चित नगरी आयोजना घोषणा गर्दा समस्या’

काठमाडौं । बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गर्दा व्यवसायीले भुक्तानी पाउन कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीवार भेटेर महासंघले बजेट सुनिश्चित नहुने, तर काम गर्ने व्यवसायीले ठूलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग संकटमा पर्न थालेको बताएको हो । महासंघले सार्वजनिक खरीद ऐन संशोधन र पछिल्लो समय देखिएका समस्याको विषयमा दाहाललाई अवगत गराएको छ । सो अवसरमा दाहालले निर्माण व्यवसायी तथा सरोकारवालालाई समेटेर खरीद ऐन संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे । महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरे । बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएकाले व्यवसायीले ठूलो रकम भुक्तानी नपाएको उनको भनाइ छ ।

कार्यालयसंग पैसा नभएपछि व्यवसायीले सडक निर्माणको काम रोके

गोरखाका पाँचवटा महत्वपूर्ण सडक निर्माणको काम रोकिएको छ। पूर्वाधार बिकास कार्यालयमा निर्माण व्यवसायीलाई भुक्तानी दिने बजेट नभएपछि व्यवसायीले काम रोकेका हुन्।...