काठमाडौैं। निर्माण व्यवसायीहरूले सरकारी काम गरेबापत पाउनुपर्ने बक्यौता भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
बुधवार सिंहदरबारमा आयोजित समितिको बैठकमा सांसदहरूले निर्माण व्यवसायीको भुक्तानी ढिलो भएको विषयमा प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो । त्यस्तै ठेक्का सम्झौताअनुसार तोकिएको समय र गुणस्तरअनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भए पनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए ।
उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिकको ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकम नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा व्यवसायी सडकमा उत्रेका थिए ।
मन्त्री ज्वालाले सार्वजनिक खरीद ऐन संशोधन नहुने बताउँदै नयाँ ऐन ल्याउने तयारीमा सरकार रहेको पनि समितिलाई जानकारी दिए । अहिलेको ऐनले विकास निर्माणको काम अघि बढाउन सहज नभएको भन्दै उनले यो विषयमा प्रधानमन्त्रीसँग बुधवार पनि छलफल गरिएको जानकारी दिए । ‘पुरानोलाई संशोधन, डेन्टिङ पेन्टिङतिर हामी जाँदैनौं । नयाँ सार्वजनिक खरीद ऐन ल्याउने गरी काम अघि बढाइएको छ,’ उनले भने ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विकास निर्माणको सुस्त गतिबारे प्रश्न उठाए । उनले विकासका बाधा हटाउन नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पूँजी परिचालन गर्नै नसकेको गुनासो गरे ।
मन्त्री ज्वालाले चाडपर्व लक्षित सडक मर्मतसम्भारका लागि बजेटको अभाव रहेको समेत बताए । बजेट अभावका कारण दशैंअघि नै सडक मर्मतसम्भार र यातायात व्यवस्थापनको काम भने जस्तो हुन सक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ छ । उनले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने पनि बताए । जथाभावी भाडा लिएर यात्रु ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने उनले चेतावनी दिए । यात्रुलाई बस भाडामा ठगिन नदिने गरी तीनओटै तहको सरकारले सहकार्य गरेर अनुगमन सशक्त बनाउने उनको भनाइ छ ।
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताए । बैठकले दशैंका बेला विद्यालय र क्याम्पसका बस खाली हुने भएकाले त्यसमा सरकारले आवश्यक सहयोग गरी मुख्य शहरबाट विद्यार्थी र अभिभावकलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।