३०% हकप्रद शेयर निष्कासन गर्न लागेको छ्याङ्दी हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?

माघ ५, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यालयसँगै शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।  योग्य आवेदकहरुले फागुन २ गतेसम्म कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । यस हकप्रद शेयरलाइ इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ ।  वैशाख १५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएको कम्पनीलाई बोर्डबाट पुस १ गते स्वीकृति प्राप्त भएको हो । कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दीर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीको समग्र वित्तिय अवस्था : हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात यो पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड र जारी पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार छ ।  ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यस कम्पनीमा संस्थापकतर्फ हाल ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत स्वामित्व रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ७६ लाख ४० हजार खुद नाफा गरेको छ ।  यो नाफा गत वर्षको सोही अवधिसम्म रू. ४४ लाख ८ हजार थियो । यस अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट रू. १ करोड ८४ लाख ६८ हजार नाफा आर्जन गरेको छ ।  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ करोड ७९ लाख २८ हजार छ । चालू आर्थिक वर्षको अन्त्यसम्म रू. ४ करोड ११ लाख खुद नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  पहिलो त्रैमाससम्म कम्पनीको कर्जा रकम रू. ७७ करोड १२ लाख ७२ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव २७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव शून्य २ छ । ३०% हकप्रद पश्चात फेरी ४०% हकप्रद जारी गर्ने योजना  कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।  कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  थप ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।

सम्बन्धित सामग्री

३० % हकप्रद शेयर निष्कासन गरिरहेको शिखर इन्स्योरेन्सको कम्पनी विश्लेषण :

चैत ९, काठमाडौं ।  शिखर इन्स्योरेन्स कम्पनीले गत चैत १ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर निष्कासन गरिरहेको छ ।  कम्पनीले १ः०.३ अनुपातमा रू.१००  अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो ।  उक्त हकप्रद शेयरमा शेयरधनीले चैत २१ गतेसम्म आवेनद दिन सक्नेछन्।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि गत माघ २१ गते नै बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।  कम्पनीले निष्कासन गरेको हकप्रद शेयरलाई इक्रा नेपालले  इक्राएनपी आइआर ए  रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउँछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हालसम्ममा कम्पनीले आव २०७७/ ७८ को लाभांश भने घोषणा गरेको छैन । आव २०७६/ ७७ सम्मको मुनाफाबाट कम्पनीले शेयरधनीलाई २७ दशलमव ७७ प्रतिशत बोनस शेयर र १ दशलमव ४६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  कम्पनीले विगत चार ओटा आवमा शेयरधनीलाई दिएको लाभांश यस प्रकार रहेको छ । कम्पनीले  आव २०७४/ ७५ र २०७५/ ७६ मा शेयरधनीलाई कुनै पनि लाभांश भने दिएको छैन ।  विगत ४ वर्षको लाभांश विवरण : ५ ओटा आवको वार्षिक वित्तीय अवस्था( रु. हजारमा) : उक्त कम्पनी निर्जीवन बीमा कम्पनीमध्येकै सबैभन्दा बढी चुक्तापूँजी भएको कम्पनी हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी अर्थात् रू. २४ करोड ३० लाख नाफा कमाएको छ । त्यसैगरी नाफासँगै  कम्पनीले पुस मसान्तसम्ममा कुल रू. २ अर्ब ३५ करोड बीमाशुल्क आर्जन गरेको छ । हालसम्ममा कम्पनीले ९२ ओटा शाखा कार्यलयहरुबाट निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीको प्रधान कार्यालय शिखर बिज सेन्टर थापाथली, काठमाडौंमा रहेको छ ।  कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डे रहेका छन् भने अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।  ५ ओटा आवको नाफाको ट्रेण्ड चार्टमा :  प्राविधिक विश्लेषण मैनबत्ती विश्लेषण :   बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३९५ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ रुपैयाँ २० पैसाले कमि आएको हो । यो दिन कम्पनीको २ हजार ६३६ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य विगत चार दिनदेखि साइडवेजमा चलिरहेको छ । यसबाट के बुझ्न सकिन्छ भने कम्पनीको शेयरमूल्य अव यहि कतै विन्दुबाट टेवा पाएर माथि जाने देखिन्छ । बुधवारको कारोबार अवधिमा भने पुच्छर भएको कालो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयरमूल्य घट्ने संकेत देखाउँछ ।  ( यद्यपि हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैंमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक हुन्छ ।)

हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको शिखर इन्स्योरेन्सको वित्तीय अवस्था :

पुस १५, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी  गरिरहेको छ । कम्पनी ३० प्रतिशत अर्थात् १० : ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू.१०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको पूँजी रू. २ अर्ब २८ करोड ६० लाख पुग्नेछ ।  कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई इक्राएनपि ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष सबल भएको देखाउँछ । कम्पनीले चालू आवको पहिलो त्रैमासम्ममा रू. १३ करोड ३६ लाख ५२ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ९  दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू.१२ करोड २३ लाख २ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको पहिलो त्रैमाससम्ममा रू. २० करोड १० लाख ३१ हजार आम्दानी गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. २१ करोड ९३ लाख ४१ हजार आम्दानी गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा जगेडामा रू. ६३ करोड ८८ लाख ७१ हजार र बीमा कोषमा रू. १ अर्ब ३६ करोड २० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले पुनर्र्बीमा गरेबापत रू. १५ करोड ९५ लाख ४६ हजार आम्दानी गरेको हो । यो आम्दानी गत आवको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ६६ लाख ६९ हजार थियो ।  कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कुल  रू.१ अर्ब ३२ लाख बीमाशुल्क आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बीमाशुल्क चालू आवको सोही अवधिमा १० दशलमव ९३ प्रतिशत वृद्धि भएको हो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ३ हजार ६१४ जनालाई रू. ४७ करोड २७ लाख १२ हजार कुल दाबी भुक्तानी गरेको छ भने १३ हजार ३८७ जनालाई रू. २ अर्ब १४ करोड ९७ लाख ४२ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ४०, मूल्य आम्दानी अनुपात ५६ दशलमव ९१ र प्रतिशेयर नेटवर्थ रू. २२६ दशलमव ७६ रहेको छ ।  स्रोत : कम्पनीले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा आधारित