असार २२, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेकोे हो । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ २७ गते निवेदन दिएको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि उक्त हकप्रद शेयर निष्कासन गर्नेछ ।
विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाखभन्दा बढी पुग्नेछ ।
कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८ करोड ६० लाख खुद नाफ आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ११ करोड ७७ लाख पुगेको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा ३६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको मुनाफबाट प्रस्ताव गरेको लाभांशपनि नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ ।
राष्ट्र बैंकले कम्पनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न स्वीकृती दिएको हो । अव यो लाभांश आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।