चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ७२ करोडको आँप र अम्बा भित्रिएको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५२ हजार ६२९ किलो आँप र अम्बा आयात गरिएको हो । जसबापत विभागले ६ करोड ९६ लाख १८ हजार रुपैयाँ राजश्व उठाएको छ । आँपको मुख्य सिजन असारको तथ्यांक आउन बाँकी रहेकाले यस आर्थिक वर्ष १ अर्ब बढीको आँप आयात हुने अनुमान छ ।