काठमाडौं (अस) । मेटलाइफ फाउण्डेसनले समाज विकासका लागि २ अर्ब ५० करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता सार्वजनिक गरेको छ । फाउण्डेसनले जनशक्ति तथा समाजमा सकारात्मक सुधारका लागि उक्त प्रतिबद्घता सार्वजनिक गरेको हो ।
सेवामा पहुँच नभएका तथा कम प्रतिनिधित्व भएकाहरूको आवश्यकतालाई सम्बोधन गर्न ‘विविधता, समता तथा समावेशीकरण २०३० प्रतिबद्घता’को घोषणा गरिएको फाउण्डेसनले जानकारी दिएको छ । संस्थाका अनुसार लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक सेवामा पहुँच नभएकाहरूलाई प्रतिबद्धताले लक्षित गरेको छ ।
मेटलाइफका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफले मेटलाइफको उद्देश्यले आफ्ना सबै सरोकारवालाका लागि थप समावेशी र समतामूलक संसार निर्माण गरिने बताए । ‘आफ्नो प्रगतिका लागि स्पष्ट अपेक्षा तथा लक्ष्यहरूको निर्धारणले हामीलाई जवाफदेही बनाउनुका साथै हाम्रो गतिलाई कायम राख्न मद्दत गर्दछ,’ उनले भने ।
मेटलाइफले गरेका प्रतिबद्धता अनुसार सन् २०३० सम्ममा महिला, अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिहरूको स्वामित्वमा रहेका फर्मलाई अघि बढाउन १ अर्ब अमेरिकी डलरको कोष स्थापना गरिनेछ । उक्त प्रतिबद्घताका लागि मेटलाइफले सन् २०२१ मा करीब १० करोड अमेरिकी डलर अग्रिम भुक्तानी पनि गरिसकेको जानकारी दिइएको छ ।
त्यसैगरी विविध आपूर्तिकर्ताहरूसँग गरिने खर्चलाई मेटलाइफको आपूर्तिकर्ता समावेशीकरण तथा विकास कार्यक्रमले हालसम्म प्रतिबद्घ गरेको रकमभन्दा १ अर्ब ६० करोड अमेरिकी डलरले बढाएर ५ अर्ब अमेरिकी डलर पुर्याइने फाउण्डेसनले बताएको छ । यस्तै फाउण्डेसनले सेवामा पहँच नभएका तथा कम प्रतिनिधित्व भएका समुदायका लागि १५ करोड अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने बताइएको छ ।