निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको कुनै समीक्षा नै भएन । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाए पनि उक्त एजेण्डामा बैठक प्रवेश गरेन । कांग्रेस सभापति देउवाले महासमिति बैठक बोलाउने प्रतिवद्धता जनाएपछि असन्तुष्ठहरूको आक्रोश मत्थर भएको थियो । नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू थिए । महामन्त्री सशांक कोइरालानिकट केन्द्रीय सदस्य दिपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेकोे बताए । तर, प्रतिनिधिसभा निर्वाचनमा पराजित उनले प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट भएकाले बहिस्कार गरेका हुन् ।