नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध आफूहरु आन्दोलित रहेकाले त्यसलाई अन्यथा नलिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपालका आफू निकट पत्रकारहरुको भेलामा आज अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पनि आफुहरुले त्यसलाई संविधान विघटन गरेको रुपमा लिएको अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो । हिंसालाई सहयोग पुग्ने गरी आफूले अभिव्यक्ति नदिएको स्पष्टीकरण दिंदै उहाँले भन्नुभयो, “हामी बन्दुकले होइन, मतपत्रको माध्यमले देश निर्माण गर्ने भनेका छौं ।” आफूले बोलेको कुरा अपभ्रंश हुने गरेको उहाँले टिप्पणी गर्नुभयो ।
प्रतिनिधिसभा विघटनले राजतन्त्रलाई व्यूँताउने गन्ध दिएको बताउँदै अध्यक्ष प्रचण्डले त्यही कारण आफूहरु सडकमा आएको प्रष्टिकरण दिनुभयो । “देशलाई पुनः निरंकुशतातर्फ धकेल्ने जुन षडयन्त्र भएको छ, यसलाई हर हालतमा रोक्नुपर्छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारले मुलुक संकटमा जाने देखिएको अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयो ।
यसैगरी सो पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले विगतका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) इतिहासको गर्वमा विलिन भइसकेकाले अब व्यूँताउन सम्भव नरहेको बताउनुभयो । परिवर्तन संस्थागत गर्न र संविधानको रक्षा गर्न आफूहरु आन्दोलित भएको पनि नेता नेपालले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे पनि आफूहरुले त्यसलाई मान्यता नदिएको उहाँले चर्चा गर्नुभयो ।