मुलुकमा एकातिर विदेशी विनिमय सञ्चिति घट्दै गएको छ भने अर्कातिर विदेशी मुद्रा भित्रिने सबैभन्दा ठूलो माध्यम विप्रेषण हुन्डीका कारण औपचारिक प्रणालीमा आउन सकेको छैन । आउटसोर्सिङमा काम गर्ने नेपालीले बुझ्ने विप्रेषण पनि अनौपचारिक प्रणालीबाट आउँदा मुलुकले विदेशी मुद्रा गुमाइरहेको छ । त्यसैले, विप्रेषणलाई बैंकिङ च्यानलबाट भित्र्याउन थुप्रै सुधार गर्नुपर्ने देखिन्छ ।
सरकारले विप्रेषणबापत भित्रिने रकम सहज र सस्तो तरिकाले ल्याउन सक्ने वातावरण बनाउनुपर्छ भने आउटसोर्सिङबाट आउने विदेशी मुद्रालाई पनि केही प्रोत्साहन दिएर सहज तरिकाले भित्र्याउनसक्ने अवस्था बनाइनुपर्छ ।
हुन्डी कारोबार गैरकानूनी हो । हुन्डी फस्टाउँदा भ्रष्टाचार बढ्नुका साथै अपराधका घटनामा वृद्धि हुन्छ । हुन्डी एक किसिमको आर्थिक अपराध नै हो । तैपनि विदेशमा काम गर्न जाने तथा अध्ययनलगायत काममा जाने नेपालीले हुन्डीबाट रकम पठाउन सहज मानिरहेका छन् । हुन्डीका एजेन्टले घरदैलो सेवा दिने, हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट भन्दा चाँडो हुने, पैसाको स्रोत खुलाउन नपर्ने तथा प्रक्रियागत झन्झट नहुने हुँदा नेपाली यसतर्फ आकर्षित भइरहेका छन् । हुन्डीबाट रकम आइरहेको तथा विदेशमा गइरहेको बारे सरकारी निकाय अनभिज्ञ पनि छैन । तर, यसलाई रोक्न र कारबाही गर्न भने ठोस पहल भइरहेको छैन । हुन्डीबाट रकम पलायन भइरहेको पनि छ । विदेशमा काम गर्नेले नेपाल पठाउने पैसा विदेशमा रहेको कुनै नेपालीलाई दिने र नेपालका आफन्तले कामदारका आफन्तलाई पैसा दिने गरेको पाइन्छ । यसबाट पैसा पलायन भइरहेको छ । अर्को, नेपाली म्यानपावर कम्पनी, गैरआवासीय नेपालीले अवैधानिक रूपमा हुन्डी व्यवसाय सञ्चालन गरेको पनि पाइन्छ । यसरी नेपालीले विदेशमा आर्जन गरेको रकम उतै रोकिने गरेको छ । त्यस्तै आउटसोर्सिङ, परामर्श इत्यादि कामबाट नेपालमै बसेर डलर आम्दानी गर्ने नेपालीले पनि पेपल आदिमा खाता खोलेर पैसा उतै जम्मा गर्न लगाउने र आवश्यक रकम विदेशमा बस्नेको आफन्तसँग लिएर हिसाब मिलाउने गरेका छन् । त्यस्तै विदेशबाट सामान आयात गर्ने व्यवसायीलाई डलर दिने र व्यवसायीबाट नेपालमा नेपाली मुद्रा प्राप्त गरेको देखिन्छ । एलसीबाट भन्दा यसरी सामान ल्याउँदा व्यापारीलाई फाइदा हुने भएकाले यस्तो प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ ।
विदेशबाट नेपालमा पैसा पठाउँदा त्यहाँका कम्पनीले महँगो शुल्क लिने, यहाँको रेमिट्यान्स कम्पनीले पनि शुल्क लिने तथा हुन्डीका भन्दा कम दरमा सटही हुने भएकाले पनि नेपालीहरू हुन्डीबाटै विप्रेषण पठाउन सहज ठान्छन् । औपचारिक प्रक्रियाबाट पठाउन विभिन्न झन्झट भएकाले हुन्डीलाई रोजेको पाइन्छ । त्यसैले हुन्डीलाई रोक्ने हो भने औपचारिक माध्यमलाई सहज र सस्तो बनाउनुको विकल्प देखिँदैन ।
नेपालमा रोजगारीका लागि आउने विदेशीहरूले पनि औपचारिक प्रणालीबाट विप्रेषण कमै पठाएको पाइन्छ । त्यसमा पनि भारतबाट नेपालमा काम गर्न आउनेको संख्या र तिनले लैजाने विप्रेषणको ठोस तथ्यांक नै पाइँदैन । भारतमा काम गर्न जाने नेपालीहरूले ल्याउने विप्रेषण पनि अनौपचारिक माध्यमबाटै आउने हुँदा ठोस तथ्यांक पाउन नसकिएको हो । भारतबाट भित्रिने विप्रेषणभन्दा बढी रकम भारतीय कामदारहरूले नेपालबाट लैजाने गरेको अनुमान छ । औपचारिक माध्यमबाट विप्रेषण कारोबार हुने भए स्पष्ट तथ्यांक आउन सक्थ्यो र नीतिगत निर्णय लिन पनि सहज हुन्थ्यो ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि तथा रोजगार गन्तव्य मुलुकमा कामदारहरूको तलब बढे पनि मुलुकमा भित्रिने विप्रेषणको रकम घट्दै जानुमा माथिकै कारण रहेको देखिन्छ । मुलुकको विदेशी विनिमय सञ्चिति बढाउन विप्रेषण रकम औपचारिक प्रणालीबाट ल्याउन सहज बनाइनुपर्छ । उनीहरूले चाहे सहजै विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था पनि गर्न सकिन्छ । त्यस्तै विप्रेषण औपचारिक प्रणालीबाट ल्याउँदा लाग्ने बढी शुल्कको भार कामदारहरूलाई नपरोस् भनी विकल्प दिइनुपर्छ । यूरोप अमेरिकामा काम वा अध्ययनकै सिलसिलामा पुगेका नेपालीहरूलाई त्यहाँ कमाएको पैसा औपचारिक प्रणालीबाट नेपाल पठाउन प्रोत्साहित गर्नुपर्ने देखिन्छ । त्यहाँबाटै नेपालमा लगानी गरी उच्च प्रतिफल पाइने सम्भावित क्षेत्र उपलब्ध गराउन सके विप्रेषण रकम बढी भित्रिन सक्छ ।
यसरी सरकारले विप्रेषणवापत भित्रिने रकम सहज र सस्तो तरिकाले ल्याउन सक्ने वातावरण बनाउनुपर्छ भने आउटसोर्सिङबाट आउने विदेशी मुद्रालाई पनि केही प्रोत्साहन दिएर सहज तरिकाले भित्र्याउनसक्ने अवस्था बनाइनुपर्छ । यसो गर्न सके हुन्डीको कारोबार घट्दै जान सक्छ ।