जेठ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ ।
यो दिन परिसूचक ८ दशमलव शून्य ३ अंक बढेर २ हजार २३९ दशमलव ६० विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२२ ओटा धितोपत्रको २३ लाख २४ हजार ६६५ कित्ता शेयर १८ हजार ८०८ पटकमा रू. ८८ करोड ९८ लाख ३४ हजार ९०८ दशमलव ६० मा खरीदविक्री भएको छ ।
परिसूचक बढेपनि कारोबार रकम भने बढेको छैन । बजार आज तेस्रो दिनसम्म लगातार वृद्धि भएको हो । कुल बजार पूँजीकरण रू. ३१ खर्ब ८७ अर्ब रहेको छ । लगानीकर्ता आगामी आवको बजेटको प्रतिक्षामा रहेको देखिएको छ । विशेष गरी शेयरधितो कर्जामा ४-१२ करोडको सीमा लागू र बैंकलाई अल्पकालिन रुपमा शेयर कारोबारमा बन्देज लगाएसँगै बजार प्रभावित भएको थियो । अब यी नीतिगत विषयलाई आगामी बजेटमार्फत संसोधन गरेमा शेयर बजार फेरी उकालो यात्रा गर्ने शेयर विश्लेषक बताउँछन् ।
कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये मेगा बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २४७ दशमलव ५० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । शेयर मूल्यमा बढ्ने दोस्रो कम्पनीमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ६ दशमलव २० प्रतिशत बढेर रू. ३७७ पुगेको छ ।
बिहीवार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ४७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १०५ झरेको हो । त्यसैगरी दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ३ दशमलव ७६ प्रतिशत घटेर रू. ३२५ दशमलव ३० मा झरेको हो ।
मेगा बैंकको शेयर मूल्यमा सर्किट लागेसँगै कम्पनीको सर्वाधिक रू. ५ करोड ४२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण काबेली पावरको रू. ४ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशलमव १९ प्रतिशत, वित्त समूहको शून्य दशमलव २२ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७४ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव १७ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशतका दरले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको हो ।
समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशलमव ९८ प्रतिशत, लगानी समूहको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ८५ प्रतिशत, निर्जीवन बीमा समुहको शून्य दशमलव शून्य ८ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशतका दरले वृद्धि भएको हो ।