भोजपुर र संखुवासभा जोड्ने लम्सुवा घाटको पक्की पुल १२ वर्ष बित्दा पनि बन्न सकेको छैन । केही दिनअघि गृह जिल्ला आएका मुख्यमन्त्री राजेन्द्र राईले पनि पक्की पुल नहुँदा अरुण नदीमा फेरीबाट गाडी तारे । स्थानीयले नदीमा पुल नहुँदा सास्ती खेप्नुपरेको भन्दै पटकपटक आन्दोलन पनि गरेका थिए । मुख्यमन्त्रीले गृह जिल्ला आउँदा नदीमा फेरीबाट गाडी तारेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । त्यसबारे धेरै टीकाटिप्पणी पनि भए । विभिन्न कारण देखाउँदै ठेकेदारले काम नगरेपछि पुल निर्माणको काम अलपत्र परेको हो ।