हास्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । एउटा समय गाईजात्रा आउनु एक महिनाअघिदेखि नै यसको रिहर्सलमा जुट्ने गर्थे तर त्यो अहिले बोलीमा मात्र सीमित भएको छ । कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि टेलिशृङ्खला र गाईजात्राका प्रहसनमा सहभागी छैनन् । गिरीसहित केदार घिमिरे, जितु नेपाल, किरण केसी यस पटक पनि कुनै समूहसँग जोडिएका छैनन् । यस पटक कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को टिम र मनोज गजुरेलको टिमले राष्ट्रिय नाचघर र प्रज्ञा–प्रतिष्ठानमा गाईजात्रा प्रहसन देखाइरहेका छन् । गाईजात्रामा स्टेज सोहरू नभए पनि अधिकांश कलाकारका हँसाउने मसला राजनीतिक र सामाजिक विषय हुने गर्छ । युट्युब च्यानलबाटै भए पनि धेरै जसो कलाकारले देश चलाउने नेता, सांसदका गतिविधिलाई व्यङ्ग्यको तारो हान्दै दर्शकलाई पेट मिचिमिची हँसाउने काममा देखिन्छन् ।