चालू आर्थिक वर्षको आधा समय बितिसक्दा १५ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । राष्ट्रिय योजना आयोगले सिंहदरबारमा आयोजना गरेको राष्ट्रिय विकास समस्या समाधान समितिको २८औं बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले सो अवधिमा विकास खर्च १४ दशमलव ९२ प्रतिशत भएको जानकारी दिए । ‘यसले हाम्रो विकासको गति निकै सुस्त रहेको पुष्टि हुन्छ,’ उनले भने, ‘यस्तै अवस्था रहेमा प्रगति होइन, दुर्गतिको प्रतिवेदन पेश गर्नुपर्ने बेला आउनेछ ।’ मन्त्रालय तथा सचिवहरूले काम गर्छौं भनिरहे पनि प्रगति भने नभएको उनको भनाइ छ ।
अर्थमन्त्री पुनका अनुसार चालू आवको पहिलो ६ महीनामा ५० प्रतिशतभन्दा बढी खर्च गर्नेमा विज्ञान तथा प्रविधि एउटा मात्रै मन्त्रालय रहेको छ । त्यसपछि सिंचाइले २९ प्रतिशत, शान्ति तथा पुनर्निर्माणले १७, ऊर्जा र उद्योगले १३ प्रतिशत खर्च गरेका छन् । तर, सो अवधिमा राजस्व संकलन भने २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको पुनले बताए । ‘राजस्व संकलन राम्रो भए पनि खर्च हुन नसक्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन सकेको छैन,’ उनले भने ।
वर्ष ८, अंक १२४, सोमवार, ८ माघ, २०६९