पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)को मुख्य प्रशासनिक भवनको पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमा सरकारी जमिन वन क्षेत्र प्राप्त गरे पनि रोकिएको प्रक्रिया आर्थिक वर्ष २०७६/७७ मा मुख्य प्रशासनिक भवनको काम सुरु भएको हो । नयाँ वर्ष २०७८ वैशाखमा सम्पन्न गर्ने गरी ठेक्का भएको सो भवनको कार्य कोरोनाका कारण केही समय लम्बिएको सेजका योजना शाखा प्रमुख माधवेन्द्र चौधरीले बताउनुभयो ।
वि.सं. २०६८ साल साउन २० गते पाँचखालमा सेज स्थापना गर्न जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले वन मन्त्रालयको सिफारिसमा एक हजार रोपनी जग्गा उपलब्ध गराएपछि सेजको कार्यक्रम अगाडि बढेको थियो । प्राधिकरणले पाँचखाल सेजको निर्माणका लागि दुई अर्ब ९५ करोड २७ लाख १७ हजार रुपियाँको अनुमानित लागत तयार गरेको थियो ।