तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी अनुदानका लागि सम्झौता गरेका छन् ।
कार्यालयले किसानको उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । किसानलाई हाते ट्र्याक्टर, कुटानीपिसानी मेशिन, ग्रासकटर, पावर टिल्लर, मकै छोडाउने मेसिन, खाडल खन्ने यन्त्र लगायत सामग्री अनुदानमा प्रदान गरिएको हो ।
शुरूमा किसानसँग निवेदन माग गरी कार्यालयबाट स्थलगत अनुगमन गरसँगै अनुदान मूल्यांकन तथा सिफारिस समितिको संयोजकत्वको बैठकबाट सदर भएपछि किसानलाई सामग्री खरिद गर्न अनुमति प्रदान गरिनेछ । किसानले आफ्नो पूरै लगानीमा सामान खरिद गरेर ल्याएपछि कार्यालयले ५० प्रतिशत रकम किसानको खातामा पठाइदिने व्यवस्था रहेको छ । बाँकी रहेका अन्य किसानले पनि सामान खरिद प्रक्रियामा रही सम्झौता गर्न आउने तयारीमा रहेको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिए ।
कृषियन्त्र तथा उपकरण कार्यक्रमका लागि ५६ लाख बजेट विनियोजन भएकोमा पहिलो चरणका लागि ३८ लाख खर्च भई १८ लाख बचत भएको छ । दोस्रो चरणको कार्यक्रमका लागि १५ दिने सूचना प्रकाशित गरिएको सिलवालले बताए । दोस्रो चरणको कार्यक्रममा जोत्ने मेशिनलाई प्राथमिकतामा राखिएको छ । ‘बजेटले धानेसम्म किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइनेछ,’ उनले भने ।
किसानलाई अनुदानमा कृषियन्त्र तथा उपकरण कार्यक्रम अन्तर्गत कृषि सामग्री प्रदान गर्न थालेपछि व्यावसायिक तरकारी तथा फलफूलखेतीतर्फ आकर्षण बढ्न थालेको छ । जमिन जोत्न प्रयोग गरिने गोरु विस्थापित हुँदै गएको र पाइहाले पनि महँगो शुल्क लाग्ने, थोरै जग्गा जोत्ने हुँदा पछिल्लो समय हाते ट्र्याक्टर प्रभावकारी बन्दै गएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए । रासस