नर्सरी व्यवसायबाट वार्षिक ७० लाखकाे कमाइ

परिश्रम गर्न सके आफ्नै माटोमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँ । बानियाँले नर्सरी ब्याडबाट फलफुल र जडीबुटीका विरुवा गरी वार्षिक रुपमा ७० लाख बराबरको विरुवा बिक्री गर्नुहुन्छ । उहाँको नर्सरी ब्याडमा सतुवा, टिमुर, लोडसल्ला, रोजमेरी, दाँतेओखर, किबी, चिराइतोलगायत करिब तीन लाख जति विरुवाहरु छन् । विरुवा उत्पादन गर्न व्यवस्थित रुपमा ब्याड बनाउनुभएको छ । बानियाँले प्रशंसा बहुउद्देयीय नर्सरी ब्याड दर्ता गरी व्यवसायिक रुपमा विरुवा उत्पादन गर्न थाल्नुभएको हो । रोजगारीका क्रममा तीनवर्ष बहराइनमा बिताउनुभएका बानियाँले स्वदेश फर्किएर बुबाको पेशालाई निरन्तरता दिनुभएको हो । म सानै हुँदा बुवाले अलिअलि विरुवा उत्पादन गरेर विक्री गर्ने गर्नुहुन्थ्यो बानियाँले भन्नुभयो ‘विदेशबाट म फर्किएर आएपछि व्यवसायिक रुपमा विरुवा उत्पादन गर्न थालेको हुँ ।’ बुवाले गरेको निर्वाहमुखी पेशालाई मैले व्यवसायिक बनाएको बानियाँले बताउनुभयो । नर्सरी ब्याडबाट वर्षेनी ७० देखि ९० लाख रुपैयाँ सम्मका विरुवा बिक्री गर्ने उहाँ बताउनुहुन्छ । म्याग्दी लगायत पर्वत, बागलुङ, कास्की, काभ्रे, वैतडी, रसुवा, इलाम, उदयपुर र लमजुङलगायतका जिल्लाबाट विरुवाको माग आउने गर्दछ । कोरोना महामारीका कारण लकडाउन भएकाले यो वर्ष सोचे अनुसारको विरुवा बिक्री नभएको उहाँले बताउनुभयो । इलाम र उदयपुरबाट नेपाली सेनाले विरुवाको माग गरेको उहाँले बताउनुभयो । यसवर्ष पनि फोनबाट माग धेरै आएको छ, बानियाँले भन्नुभयो, ‘नर्सरीमा अहिले विरुवा तयार हुँदैछन् । यो वर्ष विभिन्न थरीका गरी करिब तीन लाख विरुवा उत्पादन गर्ने लक्ष्य छ ।’ सतुवाको प्रतिगोटा ४७, टिम्मुर ६०, दाँतेओखर १०० र ग्राफटिङ गरेको विरुवा ४०० टिकानोट ३०० र रोजमेरीको ४०० रुपैयाँ प्रतिगोटा पर्ने बानियाँले बताउनुभयो । बैतडी जिल्लाबाट टिम्मुर र सतुवाको एकलाख विरुवाको माग आएको उहाँले बताउनुभयो । त्यहाँको वन डिभिजन कार्यालयले फोन मार्फत मौखिक सम्झौता भएको बानियाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ

जुम्ला । कर्णाली राजमार्ग छेवैको त्रिवेणी धामबाट पूर्वतिर ७ किलोमिटरको दूरीमा स्याउ ओखर नर्सरी छ । यो नर्सरी तातोपानी गाउँपालिका–७ सर्मी गाउँका सूर्य बुढाले सात वर्षअघि स्थापना गरेका हुन् । नर्सरीमै सात वर्ष खर्चेका उनलाई लाभ लिन भने पाँच वर्षसम्म कुर्नुप¥यो । स्याउ ओखर ग्राफ्टिङमा अनुभव नहुँदा पाँच वर्षसम्म खासै आम्दानी भएन । गत वर्ष […] The post बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशकोे प्रगति जारी छ

नेपालमा काम गर्न अर्थात् व्यवसाय गर्नजति सजिलो अन्यत्र शायदै होला । झट्ट नगद फट्ट काम । पैसा तिर्नुस्, लाइसेन्स किन्नुस् । २ अर्बमा नयाँ टेलिकम । ३ अर्बमा पुनर्बीमा कम्पनी । दर्ता हुने कम्पनीको भविष्यको कमाइ हेरेर दस्तुर तोकिन्छ । सरकारको खल्तीमा थोरै र मन्त्री तथा नियामक प्रमुखको हातमा धेरै । यो सन्तुलन बिग्रियो भने नयाँ कम्पनी खोल्न पाइन्न । देशले उत्पादन बनाएर बेच्न सकेन होला । तर लाइसेन्स बेचेर राम्रै कमाइरहेको छ । चाहे त्यो मोटरसाइकल चालकको लाइसेन्स होस् वा कुनै उद्योग वा व्यवसाय खोल्ने लाइसेन्स । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । सरकारी अफिसमा कुनै काम फत्ते गर्नु ठूलै युद्ध जित्नु जस्तै हो । तर नगद नारायण चढाएपछि काम तु. तमाम हुन्छ । त्यस्तै तपाईंलाई कुनै संस्थान, समिति वा बोर्डमा कार्यकारी पद चाहिएको छ भने २÷३ करोडको थैली ठीक पार्नुस्, काम भैहाल्छ । तपाईं भन्नुहोला यो त भ्रष्टाचार भयो भनेर । गलत । यो भ्रष्टाचार होइन । यो हाम्रो संस्कृति र हाम्रो गणतान्त्रिक परम्परा पो हो त । संस्कृति र परम्पराविरुद्ध जान त भएन नि ! यो भ्रष्टाचार सर्वव्यापी छ, यो विशालभन्दा विशाल छ अनि सूक्ष्मभन्दा सूक्ष्म छ, यो अनादि, नित्य छ । यो भ्रष्टाचारको झ्याङ दशै दिशामा फैलिएको छ । वडा वडामा, नगर नगरमा, प्रदेश प्रदेशमा यो कालो पैसाको कल्पवृक्ष खुवै झ्याङ्गिइरहेछ । यसैबाट डाँडाकाँडामा, खोला किनारमा अग्लिँदा छन् गगनचुम्बी महलहरू । यसरी देशको आर्थिक बगैंचामा भ्रष्टाचारका रूख यसरी झ्याङ्गिएका छन् कि अब यसलाई हटाउन त के घटाउन समेत सम्भव छैन । किनकि यो भूमि भ्रष्टाचारका लागि यति उर्वर बनिसकेको छ कि भ्रष्टाचारका फूल जताततै विना खनजोत मजाले उम्रिन सक्छन् । अफिस अफिसमा भ्रष्टाचारका नर्सरी लागेका छन् । त्यसका संरक्षक छन् त्यस अफिसका हाकिम, सचिव, मन्त्री र जिम्मेवार पदमा बसेकाहरू । पत्रकार, डाक्टर, ठेकेदार, इन्जिनियर, वकिल, कलाकार, पुलिस, रेक्टर, डाइरेक्टर, निर्देशक, सुबेदार, अधिकृत, एनआरएन, विदेशबाट रिटर्न, भद्र भलादमीहरू, राष्ट्रपतिबाट पुरस्कार प्राप्त गर्ने नेपाल आमाका थुप्रै रत्नहरू । को छैन यी नर्सरीका पालन पोषण गर्ने ? यस जंगलमा अरू रूख उम्रन पनि गाह्रो छ । सबै ठाउँमा भाग्यका ठेक्काहरू खुल्छन् । रकम बाँडिन्छ तल माथि, दाँया बाँया । नखाने को छ र ? नियम मिलाएर, ओठहरू सिलाएर, फाइल झिकाएर । मन्त्री, नेता, सरकारी कर्मचारीका त भाग्यरेखासँगै भ्रष्टाचारका समानान्तर रेखा बनिसकेका छन् । कसले भन्छ देशमा पार्टीमा एकता छैन भनेर ? सत्तापक्ष प्रतिपक्ष सबै जुटेकै त छन् । खाइरहेका छन् विदेशबाट उधारोमा आएको, पञ्चवर्षीय योजना, आयोजनाहरूको सुक्खा पाइपमा राखेर सँगै खान्छन् । लञ्ज, डिनर विशेष मेनु तयार गरेर । अघि नै त बढिरहेछ यो देश । अझ नयाँ पुराना सिंहदरबारहरूमा विराजमान छन् भ्रष्टाचारका महाप्रभु, सबैको शिरमा स्नेहको अदृश्य हात राख्ने । संविधान मिचेरै, नियम कानून नैतिकता कुल्चेरै भ्रष्टाचारको प्रतिस्पर्धा छ देशमा । त्यसैले त यत्रो उछलकुद, देश विदेश दौडाहा । विकास, अनुदान, गोष्टी, भाषण । मन्त्रालय, विभागहरूमा सधैं कुम्भमेला लाग्छ । चम्चाहरू, नयाँ लाइसेन्सका, नयाँ पदका उम्मेदवार घुमिरहेका हुन्छन् । पार्टीका पत्रकार, पार्टीका चन्दादाता, पुराना साथी, आन्दोलनका सहकर्मी, कार्यकर्ता । यस्तो लाग्छ– देशमा सधैं रमिता छ । मन्त्रीलाई थाहा छ सबैका लागि केही न केही गर्दिनु छ । फोन लगाउँछन् मन्त्रीका पीए– ‘हलो, म मन्त्रीज्यूको बाट ।’ उताबाट आवाज आउँछ– ‘हुन्छ हजुर, हस् हजुर, अवश्य हजुर, हजुरको जस्तो मर्जी ।’ यसरी नै यो स्वरलहरी गुञ्जिरहेको छ देशैभरि । तार गाँसिएको छ एकआपसमा । मुसाले झैं कोतरी कोतरी खाइरहेका छन् देशको सपनाको गोदाम । समिति, उपसमिति, आयोग, जाँच पड्ताल, अख्तियार, बयानका तहमा सडिरहेका छन् यथार्थहरू । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । किसान मल र सिँचाइको अभावमा तड्पिरहन्छ । व्यवसायी व्यवसाय गर्दाका हजार बाधा देखेर छट्पटाइरहन्छ । स्वदेशमा जागीर नपाएपछि विदेश जान लिएको ऋणको भारी बोकेर युवा म्यानपावर दलाल र पासपोर्ट प्रशासन धाइरहन्छ । यता उही लाइन, उही हतार, उही हताश, उही मिलावट, उही भाषण निरन्तर चलिरहेको छ बजारमा । भएजति सबै कागजमा लेखिए पनि भ्रष्टाचारको महाकाव्य अलिखित नै रहिरहन्छ । काली लक्ष्मी प्रसन्न छिन् प्रशासनका फाइलरूपी कमलपत्रमाथि । व्यापारीका हात्ती डुलिरहेका छन् मन्त्रालय, विभाग विभाग । साँझ सधैंझैं जमघट हुन्छ र फेरि चिन्तन हुन्छ ‘देश बर्बाद भो । जबसम्म देशमा गतिलो नेता आउँदैन, बलियो सरकार आउँदैन, यो देशमा केही हुन्न । अर्को एक पेग थपौं है, ‘फर द रोड’ ? ‘अँ, जहाँसम्म भ्रष्टाचारको कुरा छ, कुन देशमा छैन र ? हाम्रोमा रोडै ठीक भएनन् । फ्री राइड इकोनोमी भयो । जसलाई जे गर्न मन लाग्यो, त्यै गर्न पाउने । यसरी लाइसेन्स बाँडेर त भएन नि । म चैं आज वाइन लिन्छु है । अँ, तपाईंको कुरा मनासिव छ । अनि सुनाउनुस्, अर्को टेन्डर कहिले हाल्ने त ?’ वातानुकूलित कारमा घर फर्किंदा बाटोमा जुलुसमा हिँडेका युवालाई देखाउँदै अर्को महानुभाव सोध्छन् कि यी जुलुसमा हिँडेका यी मनुवाहरू किन केही काम गर्दैनन् ? नेताजी स्टेजमा कुनै चलचित्रकी हिरोइनसँग कम्मर मर्काई मर्काई नाचिरहेका छन् । नेताको भाषण गर्ने पालो आउँछ– ‘देशलाई आत्मनिर्भर बनाउनै पर्छ । एमसीसी राष्ट्रघाती छ । कुनै हालतमा पास गर्न दिइँदैन ।’ अनि पेश हुन्छ देश विकासको चाइनिज वा रसियन क्रान्तिकारी मोडेल । देशले प्रगति गरिनै रहेको छ । यसरी अगाडि बढी नै रहेको छ एक सुसंस्कृत देश । प्रतिभाको पनि कमी छैन यो देशमा । कमी छ त केवल एउटा कुराको, त्यो हो– धन । त्यसैले त हाम्रा योजनाहरू पूरा हुन नपाएका । हो, त्यै धन जम्मा गर्न प्रायः सबै भ्रष्टाचार गर्न जुटेका छन् । अब सबैले धन जम्मा पार्न सके भने हामी पनि छिट्टै अरू देशले जस्तै बेस्करी प्रगति गर्न सक्छौं नि, हैन ?