दुई दशक लामो पत्रकारिता छाडेर कृषि उद्यमी बनेका शर्मा भन्छन् -‘काम गर्ने ईच्छाशक्ति भए विदेशिनु पर्दैन’

वैशाख ५, कास्की । पर्वत कुश्मा नगरपालिका–७, खरेहाका भवानीप्रसाद शर्मा व्यवसायिक कृषि कर्ममा व्यस्त छन् । उनी लामो समयको पत्रकारीता पेशा छाडेर व्यवसायिक कृषि कर्ममा लागेका हुन् ।  पर्वतको कुश्मालाई कार्य क्षेत्र बनाएर केही वर्ष अघिसम्म उनले सक्रिय पत्रकारितामार्फत विभिन्न गतिविधिलाइ राष्ट्रिय चासोका विषय बनाउथे । पर्वतलाई कार्यक्षेत्र बनाएर २ दशक बढी सक्रिय पत्रकारिता गरेका उनै पत्रकार शर्मा अहिले ‘धौलागिरि अर्गानिक कफी प्रोडक्ट’ फर्म मार्फत् व्यावसायिक रूपमा कृषि उद्यमी बनेका छन् । शर्माले राष्ट्रिय स्तरका स्पेशटाइम दैनिक, च्यानल नेपाल, एभिन्युज टेलिभिजन र अन्य रेडीयो र पत्रकाहरुमा समेत काम गरेका थिए । शर्माले जिल्लामा नगन्य रुपमा पत्रिका प्रकाशन भएको त्यस अवस्थामा धौलागिरिलाइ केन्द्रीत गरेर दैनिक धौलागिरि पोष्ट दैनीक र प्रेक्षा मासिक पत्रिका प्रकाशन गरेका थिए ।  त्यसैक्रममा एफ.एम. रेडियो प्रति जनताको मोह बढ्न थालेपछि उनले रेडियो शालिग्राम सञ्चालनमा ल्याएका थिए । ०६७ मा एफएम रेडियो स्थापना गरेपछि उनी तीन वर्ष अध्यक्ष र स्टेशन म्यानेजर समेत बनेर कार्य गरे । पत्रकार शर्मा पत्रिका प्रकाशन र रेडियो सञ्चालनमा मात्र सीमित भएनन् । उनी पत्रिका, रेडियो सञ्चालनसँगै धौलागिरिका विभिन्न ठाउँमा पुगेर उद्घोषक, पत्रकारीता र भाषण तालिम समेत सञ्चालन गर्ने गर्दथे ।  पत्रकारीतामा लामो समयसम्म उधुम मच्चाएका शर्मा विगत एक दशकदेखि त्यो पेशालाइ चटक्कै छाडेर अहिले कृषि उद्यममा लागेका छन् । उनी पछिल्लो समय उनी कुश्मा नगरपालीका–७ खरेहामा स्थाई बसोवास गरी कफी उत्पादन, संकलन, प्रशोधन र बजारीकरण गर्ने कार्यमा लागेका छन् । यही व्यवसायले अहिले उनको परिचय फेरिदिएको छ । उनी पत्रकारबाट सफल कृषि उद्यमी बनेका छन् । कफी प्राविधिक रहेका उनी देशभरका हजारौं कफी उत्पादक किसानहरुको साथै कफी व्यवसायीहरुका अगुवा समेत बनेका छन् । लामो समयसम्म पत्रकारिता गर्दा समाज रुपान्तरण र सामाजिक जागरणमा सफल भएपनि अर्थोपार्जन गर्न नसकिए पछि कृषि उद्यममा लागेको शर्मा बताउँछन् । ‘लामो समयसम्म पत्रकारिता गरेर समाजिक जागरण ल्याउने कार्य गरियो’, उनले भने, ‘तर, समाज रुपान्तरणसँगै जागरणमा राम्रो प्रगति भएपनि अर्थोपार्जन गर्न नसके पछि कृषि उद्याम रोज्न बाध्य भएँ ।’ उद्यमी शर्माले पछिल्लो समय पत्रकारिता राजनीतिक चक्रब्यूहमा फस्न थालेपछि कृषिमा लागेको दावी गर्छन् । उनी भन्छन्, ‘पछिल्लो समय पत्रकारितामा राजनीति हाबी भयो । राजनीतिक दलका गलत क्रियाकलापलाइ उदांगो पार्नु पर्नेमा पत्रकारिता दलका नेताका गलत क्रियाकलापलाइ ढाकछोप गर्ने माध्यम बन्नु पर्ने अवस्था आयो ।  नितान्त जनताका पक्षमा पत्रकारिता मार्फत आवाज उठाउने उद्देश्यले पत्रकारितामा लागेकाले दलका नेताका पछि लागेर सेवक बन्न मन लागेन । उनीहरुका गलत कार्यलाइ ढाकछोप गरेर गुनगान गाउँनुभन्दा बरु पत्रकारितै छाडेर कृषि कार्यमा लागे ।’  पत्रकारिता छडेपछि कृषि पेसामा केही गर्नुपर्छ भनेर व्यवसायिकरुपमा कफी उत्पदन तथा प्रशोधन र अन्य कृषि उत्पदनमा लागेको उनी बताउँछन् । उनले कुश्माको खरेहा र ज्ञादीमा १० रोपनी जमिनमा व्यवसायिक कफी तथा फलफूल नर्सरी, कफी बगैचा, कफी बिउ उत्पादन तथा संकलन, कफी प्रशोधन उद्योगको साथै अंगुर खेती, तथा मौरीपालन गरिरहेका छन् ।  धौलागिरिमा कफी उत्पादनको अवस्था २०४० सालदेखि कफी खेती शुरु गरिएको पर्वतमा २०५७ सालपछि व्यवसायिक रुपमा कफी खेती गर्न थालिएको हो । हाल जिल्लामा ७० ओटा कफी उत्पादक समूह र १९ ओटा कफी सहकारी संस्थामार्फत उत्पादन हुने गरेको छ । धौलागिरिमा सबैभन्दा धेरै कफी उत्पादन पर्वतमा हुने गरेको छ । धौलागिरिमा अहिले झण्डै दुई हजार ५०० कृषकहरु व्यवसायिक रुपमा कफी खेतीमा आवद्ध रहेका छन् ।  पछिल्लो तथ्यांक अनुसार धौलागिरिका तीन जिल्लामा अहिले झण्डै १५ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ । त्यसमध्ये पर्वतमा मात्र १२ मेट्रिक टन कफी उत्पादन हुन्छ भने बागलुङ र म्याग्दीमा थोरै मात्रामा उत्पादन हुने गरेको छ ।  अरेरिका जातको कफी उत्पादन हुँदै आएको छ । जुन स्वाद र गुणस्तरका हिसावले विश्वमै उत्कृष्ट मानिन्छ । यहाँ उत्पादन हुने कफीमा रासायनिक मलको प्रयोग नगरी स्थानीय मलखादको प्रयोग गरी खेती गरिने भएकोले उत्पादित कफीको गुणस्तर निकै राम्रो भएकाले स्वदेशी र विश्वका विभिन्न मुलुकहरुमा समेत उच्च माग रहेको उद्यमी शर्मा बताउँछन् ।  धौलागिरिको कफीको विश्व बजारमा विगतमा धौलागिरिमा कृषकहरुले आफै घरमा प्रयोग गर्ने उद्देश्यले सामान्यरुपमा कफी खेति गर्दथे । कृषकलाई कफी उत्पादनका लागि आवस्यक तालिम, प्रशोधन, संकलन र बजारिकरणका बारेमा खासै चासो थिएन ।  बाहिरका व्यवसायीहरु आएर खरीद गरिदिएको अवस्थामा मात्र कृषकले सामान्य मूल्य पाउँथे । अन्यथा उनीहरुको उत्पादन घरायसी प्रयोजमै सीमित हुन्थ्यो । त्यसै क्रममा पत्रकारितामा विभिन्न दुःख, कष्ट र हन्डर खाएर कृषिमा व्यवसायिक भविश्य खोजेका शर्माले कृषकहरुलाई संगठित गरे ।  उनकै अगुवाइमा जिल्ला स्थित घरेलु कार्यालयमा उद्योग दर्तादेखि समूह गठन र सहकारी खोल्ने काम भयो । त्यसपछि कृषकहरुलाइ कफी खेतीका बारेमा आवस्य ज्ञानका लागि विभिन्न तालिम प्रदान गरियो । कृषकलाई संगठित गर्दै तालिम प्रदान गरे पछि कृषकबाट क्रमशः जिल्लाका विभिन्न ठाउँमा कफी उत्पादन थालियो । कफीको उत्पादनसँगै जिल्ला भित्रै कफी प्रशोधनको काम शुरु भयो ।  कफी उत्पादन बढन थालेपछि शर्माले संगठित रुपमा बजारिकरणमा लागे । जसले गर्दा पर्वतको कफीको देश विदेशबाट माग बढ्न थाल्यो । शर्मा अहिले ‘धौलागिरि कफी’ र पर्वत कफी ब्राण्डमा उत्पादनसँगै बजारिकरणको काम गर्छन् ।  शर्माले कफी प्रविधि तथा कफी उत्पादन र प्रशोधन सम्बन्धी अध्ययन अनुसन्धानको शिलशिलामा भारतको बैगलोर, इण्डोनेशियाको सुमात्रा प्रान्त, मलेशिया र थाईलैण्डको साथै नेपाली कफीको बजारीकरणको लागि यूरोप र सिगापुर पुगेर समेत कार्यक्रम सञ्चालन गरेको बताउँछन् ।  कफीसँगै मौरी पालन कफी उत्पादन, प्रशोधनको साथै लामो समयदेखि नर्सरी मार्फत् कफीका बिरुवा समेत उत्पादन गरेर देशका बिभिन्न जिल्लामा गुणस्तरीय बिरुवा विक्री गर्दै आएका शर्माले मौरी पालन समेत गरेका छन् । उनले मौरीका ३० घारबाट वार्षिकरुपमा राम्रो आम्दानी गर्दै आएको बताए । सानो छदाँ गाउँमा मौरी पालेको देखेका शर्माले अहिले मौरी पालन गरी मह र मौरी गोला समेत विक्री गर्दै आएको बताए ।  कृषि उद्यममा जोडिएकाले एउटै व्यवसायमा आश्रित हुनुभन्दा त्यसैसँग सम्बन्धित अन्य व्यवसाय गर्दा समयको उपयोगसँगै आम्दानी समेत बढ्ने भएकाले मौरी पालन लगायतका काम गरेको शर्मा बताउँछन् । उनी भन्छन्, ‘शुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरी पालन गर्दै आएका थियौ । थोरै संख्यामा घार राख्दा पनि मह रामै्र उत्पादन हुन्थ्यो । आफ्नो परिवार, इष्टमित्र, छरछिमेकमा समेत पुग्ने गरेको थियो । कृषिलाई नै व्यवसायिक रुपमा अगाडी बढाएपछि समयको बचतसँगै राम्रो कमाइ हुने देखेर मौरीपाल व्यवसायलाई अगाडी बढाए ।’ पछिल्लो समयमा बढ्दो व्यवसायिकता देखेकाले मौरीपालनमा लागेको उनी बताउँछन् । ‘मौरी पालनमा राम्रो सम्भावना देखेपछि मलाई पनि राम्रै हुन्छ भन्ने लाग्यो, त्यस पछि व्यवसायिकरुपमा यो पेसा रोजेँ,’ उनले भने,’ ‘अहिले सम्मको अनुभवमा यो व्यवसाय राम्रै हुँदो रहेछ, उत्पादन र बजार दुवै हिसाबले मौरीपालन व्यवसाय राम्रो छ ।’  कृषिमै मनग्य आम्दानी कृषि व्यवसायमा राम्रो सम्भावना देखेका शर्माले मौसमले साथ दिएको अवस्थामा वार्षिक ४५ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने दावी गर्छन् । उनले अहिले वार्षिकरुपमा कफीबाट १५ लाख, मौरीको मह र गोलाबाट ५ लाख, कफीका विरुवा विक्रीबाट २० लाख र कफीको बिउ विक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेको बताए । उनी भन्छन्,‘राम्रो मौसम भएको अवस्थामा वार्षिकरुपमा राम्रो आम्दानी गर्ने सकिन्छ । कुनै समय मौसम विग्रिएको अवस्थामा कृषि उत्पादन घट्छ । कृषि व्यवसाय मौसममै भर पर्छ ।’ कृषि फार्ममा अध्यायनका लागि आउने कृषक समूह, व्यवसायी, विद्यार्थी लगायत आन्तरिक तथा बाह्यि पर्यटकलाई कफीको व्यवसायिक खेती र माहुरी पालनका बारेमा आवश्यक जानकारी दिने गरेको शर्माको भनाइ छ । उनले कफी प्रविधि सिक्न चाहने कृषक, विद्यार्थी, व्यवसायी तथा कृषि विषयका विद्यार्थीलाई तालिमको व्यवस्था गर्दै आएको बताए । शर्माले विगतका वर्षहरुमा कृषि अध्यायन गरेका विदेशी विद्यार्थीहरु भोलेन्टीयरका रुपमा काम सिक्न आउने गरेको बताए ।  कृषक शर्माले कृषि उद्यमका लागि ८० लाख भन्दा बढी लगानी गरिसकेका छन् । कफिसँगै मौरी पालन, अंगुर तथा कागती खेती र अम्बा खेती समेत गर्दै आएका छन् । उनको फर्ममा अहिले १० जनाले रोजगारी पाएका छन् । कृषक शर्माका अनुसार छानेको मह १ हजार ५०० चाका सहितको मह १ हजार ८०० प्रतिकिलोका दरले विक्री गर्दै आएको बताए ।  ‘उत्पादित महफर्म बाटै विक्री हुन्छ, बजारको कुनै समस्या छैन,’ उनले भने, ‘माग गरे जति मह सबैलाइ पुर्‍याउन सकिएको छैन, माग ज्यादा छ, बढी उत्पादन हुने मौसममा समेत माग अनुसार पुर्‍याउन सकिएको छैन ।’ शुद्ध महको माग धेरै भएपनि उत्पादन गर्न नसकेको शर्माले बताए ।  व्यवसायिक सोचबाट काम गरे विदेश जानु पर्दैन शर्माले पछिल्लो समय युवाहरु आफ्नै देशमा प्रसस्त सम्भावना हुँदाहुँदै आफ्नो खेतवारी बाँझो रोजगारीको खोजीमा विदेशिने गरेको गुनासो पोखे । उनले भने, ‘आफ्नै गाउँघरमै मासिक ५० हजार भन्दा बढी आम्दानी गर्न सकिने प्रसस्त सम्भाबना छ । तर, देशमै राम्रो आम्दानी गर्न सकिने अबसरलाई छाडेर युवाहरु ३० हजार कमाउन खाडी मुलुक पुग्ने गरेका छन् ।’ देशमै कृषि कर्मबाट व्यवसायिकरुपमा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन पनि आपूmले निरन्तर कृषि ब्यवसायमा लागेको शर्माको भनाइ छ । अहिले पनि पत्रकारिता, उद्घोषण र भाषणकलाको तालिम दिंदै विभिन्न ठाउँमा पुग्ने शर्मा निरन्तर व्यवसायीक पुस्तक, कृषि सम्बन्धि सामाजिक सञ्जाल र युटुब च्यालन लगायतका सामग्रीमार्फत आवस्यक जानकारी दिने गरेको बताउँछन् ।  उनी भन्छन, ‘काम गर्ने इच्छाशक्ति भए, ज्ञान छैन भन्नु पर्दैन, अध्यायनका लागि आवस्यक सामाग्री खोजी गर्ने हो भने प्रसस्त भेटिन्छन् । काम शुरु गर्नु भन्दा पहिले सम्बन्धित कामका वारेमा राम्रो अध्ययन गरेर योजनाबद्धरुपमा अगाडी बढ्ने हो भने असफल भईदैन । अरुको देखासिकी र लहडमा विनायोजना काम गर्दा धेरै व्याक्ति असफल हुने गरेका छन् । योजनाबद्ध रुपमा अध्यायन गरेर अगाडी बढ्ने ब्याक्ति असफल हुने सम्भावना कम हुन्छ ।’ सरकारले बाँझो खेतमा खेतीपाती गर्ने वातावरण बनाउनुपर्ने र खाली हात बसिरहेका युवाहरूलाई वैदेशिक रोजगारीमा जानुभन्दा नेपालमै कृषिमा केही गर्नतिर लगाउनु पर्ने उनको सुझाव छ ।