आर्थिक वर्ष २०७४/७५ को अन्तिम समयमा सरकारी खर्च वढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य मात्रामा थपिएको छ । बैंकमा थपिएको निक्षेपले ब्याजदरसमेत घट्ने सम्भावना बढेको छ ।
काठमाडौं । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंक, वित्तीय संस्थामा साढे ३ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरुले असार १४ गतेसम्ममा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा वृद्धि नहुँदा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ६२ प्रतिशतमा ओर्लेको छ ।
राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउँछन् । यस हिसाबले बैंकहरुसँग अझै ३ खर्ब ५७ अर्ब थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ ।
तर, पछिल्लो समय बैंकमा निक्षेप वृद्धिको तुलनमा कर्जा प्रवाह सुस्त छ । जेठ ३१ गते बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब र ऋण ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । दुई सातामा ५२ अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा प्रवाह भने ६ अर्बले मात्र वृद्धि भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी वृद्धि भएपनि कर्जा विस्तार नभएपछि अन्तरबैंक ब्याजदर गत साता २ प्रतिशतसम्म ओर्लेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक सातामै दुईपटक रिभर्स रिपोमार्फत २३ अर्ब २० रुपैयाँ तरलता खिचेको थियो । त्यसपछि अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ ।
उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमीले बजारमा कर्जाको माग छैन । बैंकहरु पनि कर्जा प्रवाहभन्दा असुलीमा केन्द्रित छन् । बैंकहरुको लगानी टे«जरी बिल्सलगायत सरकारी ऋणपत्रमा केन्द्रीत देखिन्छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तरलता सहज भए पनि बजारको अवस्थाले ऋण प्रवाह बढ्न नसकेको बताउँछन् । ‘रेमिट्यान्समा सुधार र सरकारी खर्च बढ्दा बैंकहरुमा तरलताको अवस्था सहज देखिएको हो,’ उनले भने, ‘तर, उच्च ब्याजदर र बजारको स्थितिका कारण सचेत भएर लगानी गर्नुपर्ने अवस्था छ ।’ बैंकहरुलाई प्राथमिक पूँजीकोषको प्रावधानले पनि दबाबमा राखेको उनको भनाइ छ ।
काठमाडौं । अन्तरबैंक ब्याजदर साढे २ प्रतिशतमा झरेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी बढे पनि कर्जा विस्तार नभएपछि अन्तरबैंक ब्याजदर लगातार ओरालो लागेको हो । जेठको दोस्रो सातापछि क्रमश: ओरालो लागेको अन्तरबैंक ब्याजदर शुक्रवार २ दशमलव ६५ प्रतिशत कायम भएको छ । अघिल्लो बुधवार ५ दशमलव ७४ प्रतिशत कायम अन्तरबैंक ब्याजदर गत सोमवार ४ दशमलव शून्य १ प्रतिशतमा झरेको थियो ।
चालू आर्थिक वर्ष (आव) को शुरूमै अन्तरबैंक ब्याजदर ८ प्रतिशत नाघेको थियो । यसपछि गत माघमा पनि तरलता बढेपछि अन्तरबैंक ब्याजदर ४ प्रतिशतसम्म झर्यो । त्यतिबेला राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट तरलता तानेपछि अन्तरबैंक दर पुन: बढेर फागुनमा साढे ८ प्रतिशत पुग्यो । पछिल्लो समयमा फेरि तरलता सहज भएपछि ओरालो लागेको छ । रेमिट्यान्स र सरकारी खर्च वृद्धिले बैंकमा निक्षेप बढिरहेको छ । तर, कर्जा प्रवाह नहुँदा तरलताको आकार बढेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक सातामा दुईपटक रिभर्स रिपोबाट रकम खिचेको छ ।
विहीवार ७ दिने रिभर्र्स रिपोमार्फत १० अर्ब रुपैयाँ तरलता खिचेको केन्द्रीय बैंकले आइतवार पनि २० अर्ब रुपैयाँ खिच्न चाहेको थियो । तर, बैंकहरूले १३ अर्ब २० करोड रुपैयाँमात्र विक्री गरेका छन् । ब्याजदर पनि अघिल्लोमा भन्दा बढेको छ । बिहीवारको रिभर्स रिपोमा ९ बैंक, वित्तीय संस्थाले ५९ ओटा आवेदनमार्फत २६ अर्ब ३३ करोड रुपैयाँका लागि बोलपत्र गरेका थिए । त्यसमा अधिकतम ३ दशमलव २४ र न्यूनतम २ दशमलव ७३ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ३ दशमलव शून्य १ प्रतिशत ब्याजदर कायम भएको थियो ।
आइतवारको रिभर्स रिपोमा ८ ओटा बैंक, वित्तीय संस्थाले ३७ ओटा आवेदनमार्फत १४ अर्ब ७० करोड रुपैयाँका लागि बोलपत्र पेश गरेका थिए । त्यसमा अधिकतम ५ दशमलव ४ प्रतिशत र न्यूनतम २ दशमलव ७ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ४ दशमलव २७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पछिल्लो समयमा बैंकहरूमा निक्षेप बढिरहे पनि कर्जा प्रवाह हुन सकेको छैन, जसले गर्दा पनि अन्तरबैंक, ट्रेजरी, विकास ऋणपत्रलगायतको ब्याजदर घटिरहेको छ । शुक्रवारसम्म बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ९७ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रभाव गर्न सक्ने भएकाले करीब साढे ५ खर्ब थप कर्जा दिनसक्ने अवस्था भए पनि उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा कर्जाको माग छैन ।
शुक्रवारसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ७१ अर्ब र कर्जा प्रवाह ४८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । तरलता सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर पनि क्रमश: घट्दै गएको छ । गत मंगलवार टे«जरी बिल्सको ब्याजदर ४ प्रतिशतसम्म झरेको छ ।
केही महिनायता वित्तीय प्रणालीमा लगानीयोग्य रकम (अधिक तरलता) मा देखिएको उचारचढाव अझै साम्य हुन सकेको छैन । पछिल्ला दिनमा यो झनै बढ्दो छ । सोही कारण बैंक तथा वित्तीय संस्थाले बैंक र राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएरै व्यवसायलाई निरन्तरता दिइरहेका छन् । सरकारी खर्च नभएको, राजस्व संकलन बढेको, रेमिट्यान्स आप्रवाह घटेको, आयात बढेकोलगायत कारण वित्तीय प्रणालीमा तरलता अभाव भएको बताइएको छ ।