कात्तिक २७, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना अट्न सक्ने क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका वडा नं. ३ को गल्याङ बजार नजिकै कुल रू. तीन करोड ६६ लाख ३५ हजार ३४३ को लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो ।
गल्याङ २०७३ सालमा मात्रै घोषित भएको नगरपालिका भएकाले आवश्यक भौतिक पूर्वाधारहरु निर्माणको चरणमा रहेको छ ।
शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख ईञ्जिनियर झपटबहादुर थापाले बिहीवार गल्याङ नगर प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गरेका हुन् ।
‘गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधारहरु थिएनन्’ प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयहरुसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारहरुको निर्माणमा जोड दिईरहेका छौं ।’
गल्याङ आसपासमा धेरै जना अट्ने खालको भवनहरु नभएकाले कार्यक्रमहरु, सभा समारोह, तालीम, गोष्ठीहरु लगायतका अन्य कार्यहरु ठूलो संख्यामा गर्नका लागि भवनको अभाव भएकाले नगरपालिकाको पहलमा निर्माण सम्पन्न गरिएको नगर प्रमुख अधिकारीले बताए ।
विभिन्न समुदायका समाज घरहरु भएपनि त्यहाँ यतिको ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँहरुमा कार्यक्रमहरु गर्नुपर्ने समस्याको अन्त्य भएको छ । चर्को घामपानीका कारण कार्यक्रमहरु गर्दा गर्दै स्थगित गर्नुपर्ने अवस्था अब रहने छैन ।
निर्माण ब्यवसायी एवम् रबिना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटीहल निर्माण गरी हस्तान्तरण गरिएको बताए ।