चितवनको भरतपुरमा दुईवटा परियोजनाको कामले गति लिएको छ । जिल्लाको विकास निर्माणमा महत्वपूर्ण योगदान राख्ने अन्तर्राष्ट्रियस्तरका सिटी हल र नारायणगढ गोन्द्राङ छ लेनको सडक निर्माण कार्य तीब्र रुपमा भएको छ । यी दुई वटा परियोजना जिल्लाको विकास निर्माणको हिसाबले धेरै महत्वपूर्ण अर्थको हिसाबले हेरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि अन्तर्राष्ट्रियस्तरको नमुना मोडेलमा निर्माण गर्न धमाधम काम भइराखेको हो । चार बिघा चार कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर प्रविण गुरागाईंले जानकारी दिनुभयो ।
निर्माण अन्र्तगत अहिले जमिनमुनिको काम भइराखेको छ । २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख रुपैयाँको लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीले २४ घण्टा निर्माणको काम गरिरहेको छ । छहजार पाँचसय वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाई २५ मिटरको हुनेछ । केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो ।
सात हजार एकसय क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ । सिटी हलमा दुई हजारको क्षमता हुनेछ । छेउछाउँमा पनि दुईजना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेनपार्क पनि निर्माण गरिनेछ ।