स्याङ्जा (अस) । स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना अट्न सक्ने क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका वडा नं ३ को गल्याङ बजार नजिक ३ करोड ६६ लाख रुपैयाँ लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो । २०७३ सालमा घोषित गल्याङ नगरपालिकामा विभिन्न भौतिक पूर्वाधार निर्माणको चरणमा छन् ।
शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख इञ्जिनियर झपटबहादुर थापाले बिहीवार गल्याङ नगर प्रमुख भूपराज अधिकारीलाई सिटी हल भवन हस्तान्तरण गरेका हुन् । ‘गल्याङ नगरपालिका पछिल्लो समय घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्,’ प्रमुख अधिकारीले भने, ‘अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिएका छौं ।’
गल्याङमा सभासमारोह, तालीम, गोष्ठी लगायत कार्य ठूलो उपस्थितिमा गर्न भवनको अभाव भएकाले नगरपालिकाको पहलमा सिटी हल निर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । विभिन्न सामुदायिक भवनहरू भए पनि ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँमा कार्यक्रम गर्नुपर्ने बाध्यता थियो । निर्माण व्यवसायी एवं रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटीहल निर्माण गरी हस्तान्तरण गरिएको बताए ।