असोज ४, काभे्रपलाञ्चोक । काभे्रपलाञ्चोकका चार ओटा स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण देखिएको छैन ।
कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जानकारी दिएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको हो । आइतवार २६ र शनिवार १५ संक्रमित संक्रमणमुक्त भएका छन् ।
काभ्रेमा ६ नगर र ७ गाउँपालिका छन् । जिल्लामा हाल १०१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्यांकले संक्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ४६२ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १६९ संक्रमणमुक्त भइसकेका छन् । गत भदौ महीनायता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा यही असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । रासस