विराटनगर (अस) । उद्यमशीलता विकास तथा उत्पादकत्व अभिवृद्धिका लागि नवप्रवर्तनात्मक सोचलाई व्यावसायिक उद्यमशीलतामा रूपान्तरण गर्न उद्योग संगठन मोरङ र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य हुने भएको छ । उद्योग व्यवसायको उत्पादकत्व एवं प्रभावकारिता बढाई उत्पादन लागत कम गर्न केन्द्रसँगको सहकार्यले सहयोग पुग्ने उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । सम्भावित लगानीकर्ताको खोजी गर्नुका साथै नवीनतम सोचहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले संगठनले स्टार्टअप तथा इनोभेशन समितिको स्थापना गरेको प्याकुरेलले जानकारी दिए । समितिमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रमुख सल्लाहकारमा मनोनीत गरी केन्द्रका साथ सहकार्य अघि बढाइएको उनले बताए ।
केन्द्रका अध्यक्ष पुनले नेपालको सन्दर्भमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सबै प्रकारका नवीन व्यावसायीक प्रविधिको उपयोग आजको आवश्यकता रहेको बताए । अनुसन्धानका लागि गर्नुपर्ने खर्च व्यवस्थापनका लागि राज्यले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत रकम छुट्ट्याई कोष स्थापना गर्नुपर्ने र आवश्यक नीति, नियम र कार्यविधि बनाई तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी उद्योग व्यवसायका साथै बंैकिङ क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्ट्याएको १ प्रतिशत रकमबाट नवप्रवर्तनको क्षेत्रमा खर्च गर्न पाउनुपर्ने कानूनी व्यवस्थाका लागि पहल गर्नुपर्ने माग उनले गरे । संगठनका कार्यसमिति सदस्य तथा स्टार्टअप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नयाँ प्रविधिको विकास, क्षमता भएर पनि आर्थिक अभावमा प्रवद्र्धन हुन नसकेका नवीनतम अवधारणालाई संगठनले सहयोग पुर्याउने बताए ।
संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरेले देशलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन आविष्कारका कार्यलाई बढावा दिँदै यस क्षेत्रमा सबैले सहयोग पु¥याउनुपर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले उद्योग कलकारखानामा प्रयोग हुने सानोभन्दा सानो मिल मेशिनरी पार्टपुर्जा औजार आदिका लागि समेत आयातमा भर पर्नुपर्ने अवस्था अन्त्यका लागि नवीन खोज, वैज्ञानिक अनुसन्धान उपयोगमा काम गर्नुपर्ने बताए ।