केहि समय खाली भएका जुम्लाका अधिकांश क्वारेन्टाइन फेरी भरिभराउ भएका छन् । स्थानीय तहले विभिन्न जिल्लाबाट उद्धार गरि ल्याएकाहरुलाई क्वारेन्टाइन राखेको छ । यहाँका सिंजा गाउँपालिका बाहेक सातै स्थानीय तहमा गरी ६ सय २१ जनालाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उद्धार गरेर जुम्लामा विभिन्न जिल्लाबाट सयौ नागरिक भित्रिएका छन् । सिंजा गाउँपालिकाले भने होम क्वारेन्टाइनमा बस्न सुझाब दिदै घर पठाएको छ । यसले गर्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतको भनाइ छ ।