एनआईबिएल समृद्धि फण्ड - १ परिपक्व, इकाईधनीहरुलाई रकम फिर्ता

चैत १४, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आएको एनआईबिएल समृद्धि फण्ड १ गत पुस २२ गते परिपक्व भएको छ । फण्डले आफ्ना इकाईधनीहरुले गरेको लगानी सोमवारदेखि फिर्ता गर्न शुरु  गरेको जानकारी दिएको छ । फण्डले फिर्ता भुक्तानी रकम कानून बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिदिएको हो । उक्त फण्डले रू. १० को अंकित दरका १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । फण्डको अन्तिम प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १२ दशमलव ७४ कायम भएको छ । सोही अनुसार रकम फिर्ता भुक्तानी गरेको फण्डले जानकारी दिएको छ। हालसम्ममा पनि आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन भनिएको छ। सञ्चालन अवधि सात वर्ष रहेको उक्त फण्डले इकाईधनीलाई वार्षिक १७ दशलमव ९९ प्रतिशत प्रतिफल दिएको छ । आव २०७७/ ७८ मा उक्त फण्डका इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएका छन् । आव २०७२/ ७३, २०७३/ ७४, २०७४/ ७५, २०७५/ ७६ र २०७६/ ७७ मा भने क्रमशः १५ प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत, ६ दशमलव ५ प्रतिशत र १२ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुले पाएका छन् । योजना व्यवस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

एनआईबिएल समृद्धि फण्ड–१ को स्वामित्वमा रहेका तीन ओटा कम्पनीको ऋणपत्र विक्रीमा

फागुन १, काठमाडौं । खारेजी प्रकृयामा एनआईबिएल समृद्धि फण्ड–१ ले तीन ओटा कम्पनीको ७२ हजार ५०० कित्ता ऋणपत्र आइतवारदेखि विक्रीमा ल्याएको छ । योजनाले नेपाल बैंकको १२ हजार ५०० कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । यी ऋणपत्र खरीदका लागि इच्छुक खरीदकर्ताहरुले फागुन ८ गते अपरान्ह २ बजेभित्र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आवेदन दिनु पर्नेछ । यी ऋणपत्र खरीदका लागि न्यूनतम एक हजार कित्ता र सोभन्दा बढी कित्ताका लागि आवेदन दिन सकिनेछ ।एनआईबिएल एस क्यापिटल लिमिटेडलेको व्यवस्थापनमा यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा पुस २२ गतेपछि सूचीकरण खारेजी भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट २०७१ साल कात्तिक ३० गते सञ्चालनको अनुमति प्राप्त गरी योजना २०७१ साल पुस २३ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे अवधिको बन्दमुखी यस योजनाले योजना परिपक्व हँुदासम्मको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई आफ्नो इकाई बमोजिमको रकम फिर्ता गर्ने तयारी गरेको हो । योजनाले प्रतिइकाई रू. १० अंकित दरको रू. १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको थियो ।