म्याग्दी । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौंका पूर्वाधार निर्माण गरिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचीकृत भएका १०० ओटा पर्यटकीय गन्तव्यमध्ये एक घोडेपानी–पुनहिलमा पर्यटकीय आकर्षण बढ्न थालेपछि स्थानीय समुदायले समेत पूर्वाधार निर्माणमा लगानी गर्न थालेका हुन् ।
घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ ओटा सौर्य ऊर्जाका बत्ती जडान गरेर रातको समयमा पनि झलमल्ल उज्यालो बनाइएको छ भने झरी र हिउँ परेको अवस्थामा सुरक्षित रूपमा बसेर दृश्यावलोकन गर्न पुनहिल परिसरमा तीनकोठे पक्की आश्रयस्थल निर्माण गरिएको छ । घोडेपानीको मगर संग्रहालयको पक्की भवन निर्माण गरिएको छ ।
स्थानीयवासीले सरसफाइ र पर्यटकको स्वागतमा ध्यान दिन थालेका छन् । ६ वर्षअघि यहाँका होटलहरूको क्षमता दैनिक ५०० जनाको हाराहारीमा रहेकोमा अहिले क्षमता बढाएर एक हजारभन्दा बढी पु¥याइएको घोडेपानी होटल व्यवस्थापन समितिले बताएको छ । होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनका अनुसार चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गरिएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले २७ करोड लगानी गरेको छ ।
त्यसैगरी पाउद्वार तातोपानी कुण्डबाट भालखरा–खोपारा, खयरताल–खोपारा र लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण शुरू गर्न थालिएको छ । पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलोपटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।
धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा १० लाखको लागतमा जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैंसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेकोे परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रूपान्तरण गर्न लागिएको हो । रासस