सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ । जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनगणनाको समग्र कार्यतालिका आम नागरिकलाई सूचित गराउन स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय, पत्रकारसमेतको सहभागितामा कार्यक्रम सार्वजनिक गरिएको हो ।
जनगणना सम्पन्न गर्न ७८ गणक एवम् २१ सुपरभाइजर परिचालन हुने जिल्ला जनगणना अधिकारी कपिल धितालले जानकारी दिनुभयो । दोहोरोपन हटाउन जुन स्थानमा बसोवास गरेको छ सोही स्थानमा बस्नेको मात्र गणना हुने भएकाले घरघरमा आउने गणकलाई सही रूपको पारिवारिक विवरण दिई राष्ट्रिय जनगणना सफल पार्न समुदायमाझ आग्रह गरिएको बताइन्छ ।