असोज २७, पेचिङ (चीन) । गत महीना चीनको आयात र निर्यात वृद्धि सुस्ताएको छ ।
ढुवानीमा देखिएको अवरोध र अन्य बाधाहरुका कारण सो अवधिमा व्यापार सुस्ताएको हो । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बरमा निर्यात २८ दशमलव १ प्रतिशतले बढेर ३ खर्ब ५ अर्ब ७० करोड डलरमा पुगेको छ ।
वृद्धिको यो दर अगष्टको तुलनामा कम हो । अगष्टमा निर्यात ३३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा आयात पनि १७ दशमलव ६ प्रतिशतले बढेर २ खर्ब ४० अर्ब डलरमा पुगेको छ ।
यो अपेक्षा गरिएभन्दा थोरै बढी भएपनि अघिल्लो महीनाको २६ प्रतिशतभन्दा चाहीं कम हो । गत वर्षको आर्थिक मन्दीपछि औद्योगिक आपूर्ति शृङ्खलामा अवरोध कायमै छ ।
अमेरिका र अन्य बजारमा बढिरहेको संक्रमणले उपभोक्ता मनोबल धूमिल बनाएको छ । समग्रमा दुई पक्षीय व्यापार जुलाई सेप्टेम्बर अवधिमा १५ प्रतिशतले बढेको छ । अघिल्लो त्रैमासमा यो दर २५ प्रतिशत थियो । एजेन्सी