काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दशैं, तिहार र छठ पर्व अवसरमा ग्राहक लक्षित अफर सार्वजनिक गरेको छ ।
एनसेलका ग्राहकले उत्सवका बेला आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, यूएई र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक साता २१ वटा स्मार्ट फोन जित्ने मौका पाउनेछन् ।
कम्पनीका अनुसार योजनामा बढीभन्दा बढी आगमन कलमा कुरा गर्ने २१ ग्राहकले १/१ वटा गरी हरेक साता २१ वटा स्मार्ट फोन पाउनेछन् ।
यसबाहेक विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक साता १ स्मार्ट फोन पाउनेछन् ।
कात्तिक २४ गतेसम्म सञ्चालनमा रहने योजना अवधिमा कुल ११० ग्राहकले स्मार्ट फोन जित्न सकिने कम्पनीले बताएको छ । स्मार्ट फोन जित्न ग्राहकले उल्लिखित देशबाट २ मिनेट आगमन कलमा कुरा गरेको हुनुपर्नेछ ।
ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्ट फोन जित्नका लागि ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्छ ।
प्रत्येक साता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटका आधारमा २१ जना स्मार्ट फोन विजयी ग्राहकको नाम छानिने एनसेलले जानकारी दिएको छ ।
मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदीको जेन मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका परिवारका सदस्य, आफन्त वा साथीभाइले योजनाको लाभ लिन सक्नेछन् । हरेक साता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जनाले स्मार्टफोन पाउनेछन् ।
एनसेलले विभिन्न देशमा रहेका नेपालीमाझ चाडपर्वको शुभकामना आदान–प्रदान गर्न र मनोरञ्जनका लागि आउँदो शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्ट आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीत प्रस्तुत गर्नेछन् भने हास्य कलाकार सुमन कार्की प्रस्तुति पनि रहने एनसेलले बताएको छ ।
एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाइनेछ ।