जबसम्म मानिस आर्थिक रूपमा सम्पन्न हुँदैन तबसम्म खुशी हुन निकै कठिन छ । अन्य सबै दुःखलाई मानिसले दीर्घकालमा बिर्सन सक्छ तर आर्थिक विपन्नताको पीडाले कहिल्यै पनि मुक्ति दिँदैन । हाम्रो भोक, कुपोषण, रोग र उपचार खर्चको अभाव, थोत्रा कपडा र चुहिन लागेको घरको छानोसँग जताततै गरीबी तथा अभावरूपी पीडा स्मरणीय बनेर रहेको हुन्छ, पैसाको अभाव । हामीले आफन्त गुमाएको पीडा, कुनै भौतिक सम्पत्ति गुमाएको पीडा तत्कालका लागि ज्यादै तीव्र भए तापनि केही समयपछि यसलाई भुल्ने नै छौं तर पैसा अभावको छटपटी जतिबेला पनि हाम्रो वरिपरि घुमिरहेको हुन्छ ।
यस कुरालाई आत्मसात गरेर हाम्रा बच्चालाई अप्रत्यक्ष रूपमा कमाउने विषयमा जानकारी प्रदान गराऊ र सिकाऊ पैसा महत्त्वपूर्ण र अति आवश्यक छ । पैसा र सफलता दुवैलाई समानान्तर रूपमा अगाडि बढाउन जरुरी छ । मानिसले जीवनमा ठूलो सफलता पाउने प्रयास गर्नुपर्छ । कहिले काहीँ पैसाको अभावले गर्दा सानो सफलतामै मख्ख परेर बस्ने अवस्था आउन सक्छ । सानो जागीर सानो आम्दानीले मानिस अदम्य लक्ष्यमा पुग्ने बाटो रोकिएका उदाहरण पनि देखिएका छन् ।
पैसाको अभाव नहोस् भन्ने चाहना राख्ने मानिसले लगानी गर्ने आदत बनाउनुपर्छ । लगानी यस्तो चिज हो जहाँ नोक्सान यत्ति हुन्छ भन्ने अनुमान गर्न सकिन्छ तर आम्दानी कति हुन्छ भन्ने अनुमान गर्न सकिँदैन ।
कसैले १ लाख खर्च गरेर चिया पसल खोल्छ भने पूरै घाटा लाग्दाको दिन १ लाख डुब्छ तर एउटा कटिबद्ध र मेहनती चिया पसलले कति कमाउँछ भन्ने अनुमान नै गर्न सकिँदैन । लगानी गर्दा एकैचोटि करोडौं नाफा गर्छु भन्ने महत्त्वाकांक्षा नराख्ने हो भने आम्दानीको पृष्ठभूमि तयार हुँदै जान्छ भेन्चरमा फलहरू फल्दै जान्छन् ।
कमाउन गुणस्तरमा ध्यान दिन जरुरी छ । यदि एक पटक आएको ग्राहकलाई यो वस्तु, सेवा तथा गुणस्तर राम्रो छ भन्ने लागेमा ऊ पटकपटक आउन थाल्छ । त्यसैले युवामा लगानीसम्बन्धी सोच जागृत हुन जरुरी छ ।
लगानीका लागि पछिल्लो दिनमा शेयरबजार राम्रो विकल्पको रूपमा देखिएको छ । कम्पनीहरूको प्रतिशेयर आम्दानी (ईपीएस), यसको सम्पत्ति तथा दायित्वको संरचना, रिटर्न अन इक्विटी, नेटवर्थ आदि हेरेर लगानी गर्दै जाने हो भने दीर्घकालमा पूरै नोक्सान हुने सम्भावना निकै कम छ । अब कमोडिटी बजार, इन्ट्राडे लगानी, फ्युचर एन्ड अप्शन (एफएओ) जस्ता फरक लगानीका अवसर शेयरबजारमा उपलब्ध छन् । यी सबै क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भावना जागृत भएमा विस्तारै आर्थिक समस्याबाट मुक्त हुने उपाय प्राप्त हुँदै जान्छ ।
लगानीमा जोखिम छ, सीमित छ तर आम्दानी असीमित छ । यो सत्य बच्चाहरूलाई बुझाउन सक्नुपर्छ । जोखिम व्यवसायको अभिन्न सम्भावना हो । तर, यो हिसाब गर्न सकिने किसिमको हुन्छ । नाफा हुने दिन आएमा १ हजार मात्र लगानी गरेर पनि अर्बपति भएका उदाहरण पनि छन् ।
यसैले लगानी गर्न लजाउनु पर्दैन र डराउनु पर्दैन । असफलता यदि कतै छ भने लगानीमा होइन, लगानीकर्तामा छ । लगानी गर्दा आँखा चिम्लेर गर्ने अनि त्यसपछि कुनै योजना र रणनीति नबनाउने र सरकारले झैं काम गर्ने कर्मचारी मात्र थप्ने हो भने पक्कै व्यवसाय घाटामा जान्छ । त्यसैले लगानी सम्भावना भएको ठाउँमा गर्नुपर्छ, ग्राहकको आवश्यकता सम्बोधन गर्ने वस्तु तथा सेवामा गर्नुपर्छ र त्यसमा प्रतिबद्ध भएर लाग्नुपर्छ, धैर्य हुन सिक्नुपर्छ, प्रविधिको तह र स्तरमा सचेत भइरहनुपर्छ । घाटा हुँदैन ।
अहिले आएर व्यवसायीभन्दा उद्यमीहरू अगाडि गएका छन् । व्यवसाय र उद्यम एउटै जस्तो शब्द बुझिए तापनि यी २ मा केही आधारभूत अन्तर छ । व्यवसाय भनेको अलिकति परम्परागत विषयवस्तुलाई पुरानै तरीकाले अनुकरण गर्ने कामलाई बुझिन्छ । यसमा अनुभव बढी हाबी हुन्छ तर उद्यमशीलतामा पहिलाको भन्दा केही नयाँ सोचका साथ लगानी गरिन्छ ।
यसको प्रविधि, डिजाइन, गुणस्तर, प्रयोग गर्ने तरीका, स्वाद रूपमा कतै न कतै नयाँपन हुन्छ । सबैभन्दा महŒवपूर्ण कुरा उद्यमीहरू स्केलेबल हुन्छन् उनीहरूले ग्राहकको रुचिका बारेमा सर्वेक्षण गरेका हुन्छन्, प्रविधि विगतको भन्दा नितान्त आधुनिक हुन्छ ।
उद्यमीले व्यवसायिक योजना बनाएर काम शुरू गरेको हुन्छ र रणनीतिमा कहिलेसम्म कति उत्पादन गरेर विक्री गर्नुपर्ने भन्ने सम्पूर्ण वित्तीय रूपरेखा तयार पारिएको हुन्छ । उद्यमीहरू प्रतिस्पर्धालाई ध्वस्त पार्ने रणनीतिका साथ आएका हुन्छन् । उनीहरूले हरेक अनिश्चिताको सामना गर्ने तयारी गीरसकेका हुन्छन् ।
उद्यमी हुन सके राम्रो, त्यो नभए व्यवसायी नै बन्ने हो त्यो पनि समय छैन भने आप्mनो जे जति बचत छ त्यसलाई शेयरबजारमा लगाउनुपर्छ । पैसा भनेको बीउ हो यसलाई माटो दिनैपर्छ त्यो नै लगानी हो । यसलाई आफै संरक्षण संवर्धन र गोडमेल गर्ने पनि लगानी हुन्छ । तर, एकपटक रोपेपछि आनन्दले सुते पनि पैसा आउने लगानी शेयरबजार हो ।
२२३ ओटा सूचीकृत कम्पनीमध्ये सबै कम्पनीले कुनै न कुनै समयमा लगानीकर्तालाई आम्दानी दिएकै छन् १/२ प्रतिशत कम्पनी डुबेका पनि छन् । कुनै कम्पनीको अनावश्यक बुलिङ पनि नहुने होइन होला तर समग्रमा सिरानीमुनि राखेको वा बचत खातामा राखेको पैसाभन्दा शेयरको लगानी धेरै प्रतिफलयुक्त हुन्छ । तैपनि अपवादको कुनै जवाफ कसैसँग हुँदैन लगानी डुब्न सक्छ, त्यो चिया पसलको लगानी हुन पनि सक्छ र ठूला सिमेन्ट कम्पनीहरू तथा नोकिया, तोसिबा, निरमा पाउडर जस्ता कम्पनी पनि डुबेका उदाहरण छन् ।
लगानी गरेपछि सचेतना र लगानीप्रति सद्भावना हुनुपर्छ त्यो जिम्मेवारीबाट मुक्त हुने प्रयास कसैले नगरौं । अलिकति गोडमेल गर्नासाथ २ दाना फर्सीको बिउले १ टन फर्सी र मुन्टा दिन्छ । लगानी पनि त्यस्तै हो सोही आशालाई जीवन्त राख्दै लगानी गरौं ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।