काठमाडौं। इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं ४५)ले भक्तपुरको सूर्यविनायक नगरपालिका–६, सूर्यविनायक चोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रबन्ध निर्देशक भक्तिराम घिमिरेले भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्दै जाने र नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जको स्वीकृति लिई पोर्टफोलियो सेवा, लगानी परामर्श सेवा, ब्रोकर डिलरशिप आदि सेवा विस्तार गर्ने योजना रहेको बताए । यसै क्रममा कम्पनीका निर्देशक सीताराम अधिकारीले भक्तपुर शाखा स्थापना भएसँगै भक्तपुरका लगानीकर्ताको शेयर खरीदविक्री, डिम्याट खाता, मेरो शेयर र शेयर अभौतीकरण जस्ता सुविधा सहज रूपमा प्रवाह हुने बताए । धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९ बमोजिम काठमाडौं उपत्यका बाहिर तीनओटा शाखा खोलेपछि उपत्यकाभित्र एउटा शाखा खोल्न दिने व्यवस्था छ । कम्पनीले नेपालगञ्ज, सुर्खेत र धादिङमा शाखा स्थापना गरिसकेको छ ।