बैशाख ८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ ओटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताएका छन् ।
यससँगै अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने पनि उनले स्पष्ट पारे । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम शुरु गर्ने पनि उनले बताए ।
आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरु पुरा गरिसकेको उल्लेख गरे ।
उनले अगाडि भने ‘निर्वाचनका व्यवस्थापनका कामहरु लगभग हामीले सकिसक्यौँ । सामान खरिद गर्ने, तत् तत् ठाउँमा पुर्याउने लगायतका विविध व्यवस्थापनका कामहरू सकिए । अब के बाँकी हो भने दलहरुका तर्फबाट अथवा स्वतन्त्रबाट आउने उम्मेदवारहरुले मनोनयन पत्र दाखिल गर्न बाँकी भो । त्यो दाखिल भएको मनोनयन पत्रको हकमा दाबी, विरोध, उजुरी लगायतका कुराहरु पनि आउने भए । र त्यसलाई अन्तिम निर्णय गरिसकेपछि उहाँहरु अन्तिम उम्मेदवार हुनुुहुन्छ ।’
आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको पनि बताए । सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति गराउने उनले विश्वास व्यक्त गरे ।
निर्वाचन सामग्रीहरु सबै स्थानीय तहहरुमा समयमै पुर्याउने उनले बताए । उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न पनि आग्रह गरे ।