लमलुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।
‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ,’ इञ्जिनियर अधिकारी भने । उनका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त आयोजनाले बताएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ ।
अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र हुनेछ भने कालोपत्र सकिएपछि सडक रङरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण सम्पन्न भएको बताइएको छ । आठ दशमलव आठ किलोमिटर सडक २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।
डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।
छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट २०२९ सालमा खन्न शुरू गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । शुरू गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो । कालोपत्रे भएपछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौं संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ । डुम्रे बेँसीशहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस