म्याग्दीमा कृषि उत्पादनमा वृद्धि

मंसिर २४, म्याग्दी । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजको उत्पादन वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशतमा खाद्यान्न, तरकारी र फलफूलखेती विस्तार गरिएको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको र पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको स्थानीय तहका कृषि शाखाहरूले जानकारी दिएका छन् । विगतका वर्षमा जिल्लामा ९६ प्रतिशत मात्र रोपाइँ हुने गर्दथ्यो ।  जिल्लाका विभिन्न स्थानमा जौँ जोन, मकै जोनजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । सिँचाइ समस्याले धेरै जमिन बाँझो राख्नुपरेका किसानलाई राहत भएको छ । कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, नहर, पक्की कुलोले गर्दा पानी सहज भएपछि खेती गर्न सजिलो भएको कृषक बताउँछन् । यता स्थानीय सरकारले पनि कृषिलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्दै आएको जानकारी दिएका छन् । मंगला गाउँपालिकाले बाँझो जमिन नराख्ने नीति अगाडि सारेपछि अहिले गाउँपालिकाभित्र कतै पनि बाँझो जमिन नरहेको गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । जिल्लामा बाँझो जमिनको अवस्था घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । त्यसैगरी, जिल्लामा नगदे बालीलाई पनि प्राथमिकता दिइएको छ । यसअघि पानीको सुविधा नभएका स्थानमा नगदेबालीको खेती गर्न किसान आकर्षित भएका हुन् । जिल्लामा आलु, गोलभेँडा, काउली, बन्दालगायत तरकारी उब्जनी हुँदै आएको छ ।  स्थानीय सरकारले कृषिको पकेट क्षेत्रको पहिचान गरी अनुदानलगायत कार्यक्रम विस्तार गर्न कृषिमा लागेका युवाले माग गरेका छन् । पाँच वर्ष लामो दुबर्ईको बसाइलाई बिट मारेर गत चैतमा गाउँ फर्किएका मालिका गाउँपालिका–५ का भीमबहादुर रोकाले वर्षौँदेखि बाँझिएको १८ रोपनी पाखोबारीलाई जोतेर दुई हजारभन्दा बढी सुन्तला, कागती र केराका बिरुवा लगाएका छन् । ‘विदेशमा हामी जस्तो दुःख गर्न पनि तयार हुन्छौँ, तर स्वदेशमा भने जाँगर देखाउँदैनौँ’, रोकाले भने, ‘म विदेश नफर्कने निर्णय गरी गाउँमा नै बाँझिएको जग्गा जमिन जोतेर फलफूल र तरकारी खेतीतिर लागेको छु ।’ रोका मात्रै होइन, कोरोना महामारी शुरु भएपछिका १६ महीनामा दुई हजार ७०० भन्दा बढी युवा वैदेशिक रोजगारी छाडेर आफ्नै गाउँमा फर्किएका जिल्लाका विभिन्न स्थानीय तहहरूले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।  यीमध्ये ८५ प्रतिशत युवा कृषि र पशुपालनमा जोडिइसकेका छन् भने बाँकी युवा स्वदेशमै रोजगारीका अन्य माध्यमको खोजी गरिरहेका छन् । रासस

सम्बन्धित सामग्री

‘क्रप कटिङ’ विधिद्वारा धान उत्पादनको अध्ययन

म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलव शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ ।

म्याग्दीमा बढ्यो धान उत्पादन, ‘क्रप कटिङ’ विधिद्वारा अध्ययन

म्याग्दी । म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलव शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । अनुकूल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिइन् । “रोप्ने समयमा वर्षात भएको र भित्र्याउँदा पानी […]

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

म्याग्दी । जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ । परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष जिल्लामा रु पाँच […]

म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण

म्याग्दी – खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो ।  चालु आर्थिक वर्ष २०७८/७९ को ससर्त खाद्यान्न बाली उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरिएको पालिकाले जनाएका छन् । ग्रामीण भेगका किसान, कृषक समूह र कृषि सहकारी सङ्घसंस्थाको मागअनुसार  मकैको बिउ वितरण गरिएको छ ।  छ वटा पालिका रहेको म्याग्दीमा यसवर्ष बेनी ...

म्याग्दीमा जौ र आलु विकास कार्यक्रमका लागि २४ लाख बजेट विनियोजन

फागुन ४, म्याग्दी । म्याग्दीका दुई स्थानीय तहमा यस वर्षदेखि जौ र आलुको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रम शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा गाउँपालिका–५ झिँ र ६ नं वडा पाखापानीमा जौ तथा मालिका गाउँपालिका–६ को दिच्याम र ७ नं वडाको बिममा आलु ब्लक शुरु गरिएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले ब्लक कार्यक्रम शुरु गरिएको बताए ।  ‘पालिका र जिल्लास्तरमा सरोकारवालाको सिफारिसपछि थपिएको आलु र जौ जोन कार्यक्रम कृषकको सञ्चालक समिति गठन र सम्झौता गरी कार्यान्वयन थालिएको छ’, उनले भने, ‘नयाँ ब्लक कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रू. २४ लाख बजेट विनियोजन गरिएको छ ।’ केन्द्रमार्फत यसअघि रघुगंगा–८ कुइनेमङ्गले, अन्नपूर्ण–८ राम्चे र मङ्गलाको ३, ४ तथा ५ नम्बर वडामा आलु, बेनी नगरपालिका–४ र मङ्गला–३, मालिकाको ४, ५, ६ र ७ वडामा सुन्तला तथा धवलागिरि–७ ताकममा रैथाने धानबालीको ब्लक कार्यक्रम सञ्चालन गरिएको थियो ।  ६ ब्लक कार्यक्रमको निरन्तरताका लागि रू. १३ लाख ११ हजारका दरले बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । जौको ब्लक ५० हेक्टर र आलु ब्लक ३० हेक्टर क्षेत्रफल समेटिएको छ ।  कार्यक्रममार्फत कृषकलाई निःशुल्क तालिम र प्राविधिक सहयोगका साथै सिँचाइमा ८५ र कृषि औजार, बीउ र विषादीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने केन्द्रका प्रमुख सिग्देलले बताए ।  पोषिलो खाद्यबाली जौको खेती घट्दो क्रममा रहेको अवस्थामा शुरु गरिएको कार्यक्रमले संरक्षण र व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  जिल्लाभर ३०० हेक्टरमा जौखेती हुने र वार्षिक ४०० मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । एक हजार ६०० हेक्टरभन्दा बढीमा खेती हुने आलु यहाँबाट निकासी हुने मुख्य कृषिउपज हो । जिल्लामा वार्षिक १६ हजार ४५० मेट्रिकटन आलु उत्पादन हुन्छ ।  संघीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जोन, प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले ब्लक र स्थानीय तहका कृषि शाखाले पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयन गरेका छन् । रासस

जडीबुटी खेतीतर्फ म्याग्देली किसानको आकर्षण बढ्दै

असोज ६, गलेश्वर । म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।  किसानले व्यावसायिकरुपमा जडीबुटी खेती थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले सामूहिक रुपमा जडीबुटी खेती थालेको छ । उक्त समूहले गत वर्षदेखि नै जडीबुटी खेतीको शुरुआत गरेको थियो ।  समूहले यस वर्ष करीब दुई रोपनी जग्गामा उतिस खेती विस्तार गरेको छ । सो समूहमा आवद्ध २५ किसानले उतिसको बिरुवा रोपण गरेको अध्यक्ष गोर्खा छन्त्यालले जानकारी दिए । ‘बजारमा उतिसको माग अत्यधिक छ, त्यसैले यसको व्यावसायिक रुपमा खेती गरिएको हो’, उनले भने ।  समूहले स्थानीयस्तरमा बिरुवा उत्पादन गरी वृक्ष रोपण गरेको हो । स्थानीयवासीले उतिसलाई पेटको जुका मार्न र शक्तिवद्र्धक औषधिका रुपमा प्रयोग गर्दैआएका छन् । समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा रहेको गुर्जा जडीबुटीको सम्भावनायुक्त ठाउँ हो ।  सो ठाउँमा हिमाली किसान समूहले टिउथिबा सामुदायिक बनको दुई हेक्टरभन्दा बढी पाखो जग्गा भाडामा लिई व्यावसायिक जडीबुटीखेती थालेको छन्त्याल बताउँछन् ।  जिल्लामा पछिल्लो समय गुर्जो, अस्वगन्ध, दालचिनीलगायत जडीबुटीको खेती गर्न थालिएको छ । धवलागिरिको मुना, मुदी र गुर्जाका जंगलमा प्रशस्त जडीबुटी पाइन्छ ।  स्थानीयवासीले यसको व्यावसायीक खेती गर्न थालेका वडा नम्बर ३ का वडाध्यक्ष पुर्म पुन बताउँछन् । बेनी, पोखरा, काठमाडौंलगायत ठाउँबाट जडिबुटीको माग हुन थालेको उनले बताए ।  पछिल्लो समय जडीबुटीलाई औषधिका रुपमा प्रयोग गर्ने क्रम बढ्दै गएको आयुर्वेदिक औषधालयका प्रमुख प्रेमप्रसाद गौतमले बताए । ‘जडीबुटीको प्रयोग र माग बढ्न थालेको छ’, उनले भने ।  सर्वसाधारणले विस्तारै जडीबुटीको महत्व बुझ्दै गएकाले यसतर्फ आकर्षण बढेको उनको भनाइ छ । जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै त्यसको सामना गर्ने शक्तिसमेत बढाउँछ । महत्व नबुझ्दा बहुमूल्य जडीबुटी जंगलमा त्यत्तिकै खेर गइरहेको गौतमले बताए ।  जडीबुटीको औषधि बनाइ उपचार गर्नेबारे बेद, उपनिषद् र धार्मिक ग्रन्थमा समेत व्याख्या गरेको पाइन्छ । आयुर्वेदमा आचार्य गर्नुभएका बेनी नगरपालिका–२ ज्यामरुककोटका जीवन शर्मा आचार्य अष्टगन्ध, गुर्जो र तुलसीपत्र औषधिका रुपमा नियमित सेवन गरे शरीरमा अक्सिजनको कमी हुन नपाउने तथा रोग लागेमा प्रतिरोधात्मक क्षमता बढ्ने बताउँछन् । यसैगरी कोरोना संक्रमण भएका व्यक्तिलाई दालचिनी, अस्वगन्धा, तुलसी, मेवा र अम्बा (बेलाउती) को पत्र मिश्रित चूर्ण वा रस सेवन गराए प्रतिरोधात्मक क्षमता वृद्धि हुने चिकित्सक बताउँछन् । बेनी नगरपालिका–२ का ८५ वर्षीय वेदप्रसाद उपाध्याय नियमितरुपमा तुलसी पत्र र गुर्जो सेवन गर्दै आएको बताउँछन् । उपाध्याय मात्र होइनन् अर्मनका देवी सापकोटा र अर्थुङ्गेका नीलकण्ठ आचार्य पनि नियमितरुपमा तुलसीपत्र, गौमुत्र, गुर्जो र अन्य जडीबुटी औषधिका रुपमा प्रयोग गर्दै आएका छन् । रासस

कोरोना संकटमा खेतीपातीमै व्यस्त म्याग्दीका किसान

म्याग्दी । बिहान ६ नबज्दै म्याग्दीको बेनी नगरपाकिला–२ बगरफाँटका किसान मकै गोड्न खेतमा पुगिसकेका हुन्छन् । मुखमा मास्क र हातमा कोदालोसहित खेतका गह्रामा मकै गोड्दै गरेका किसानलाई यतिबेला कोरोना संक्रमणको डरभन्दा बाली नसप्रिएको चिन्ताले पिरोल्न थालेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा तीव्ररूपमा कोरोना संक्रमण फैलदै गएको भए पनि काम नगरी नहुने भएकाले आफूहरू सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरूले बताएका छन् । अहिले गाउँमा मकै गोड्ने, धानको बीउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमै गर्नुपर्ने भएकाले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताइन् । रोगभन्दा भोक टार्न समस्या हुने भएकाले जोखिम भए पनि  सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइ छ । ‘परिवारको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ,’ उनले भने, ‘रोगसँग डराएर मात्र पनि त भएन नि ।’ शाह र कार्की मात्र होइन, अहिले धेरै कृषक खेतबारीमा व्यस्त छन् । ‘मानो रोपेर मुरी फलाउने बेला हुँदै छ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ,’ मंगला गाउँपालिका–३ का कृषक युमाकान्त सापकोटाले भने, ‘गाउँमा भने खेताला पनि पाइन्नन्, अर्मपर्म नगरीकन खेती लगाउनै सकिँदैन ।’ वर्षात्को खेती सिजन शुरू हुन लागेसँगै बजारवासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला फुर्सद नै छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा व्यस्त बनेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको सिजन शुरू भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धवलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताए । ‘कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम र समय कटाउनु आराम छ, त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्ति पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन् ।’ खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाइ र रोग, किराको प्रकोप हटेपछि गतवर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । २ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ । १ लाख १३ हजार ६४१ जनसंख्या रहेको जिल्लाको ३२ प्रतिशत बासिन्दा पूर्णरूपमा कृषिमा आश्रित छन् । यद्यपि उनीहरूमध्ये अधिकांशले व्यावसायिक रूपमा कृषि उत्पादन गर्न सकेका छैनन् । ७ प्रतिशतले मात्रै व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका छन् । गोठेमलको प्रयोग र  यस वर्ष पर्याप्त वर्षात्ले सिँचाइ पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । समयमै मल आवश्यक पर्ने किसानलाई उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी पनि गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ ।