कर्णालीमा विवाह भएको पहिलो गर्भमा छोरा जन्माउने महिला निकै भाग्यमानि मानिन्छन् । पहिलोपल्ट छोरी जन्मिँदा ठुस्स पर्ने मानसिकता कर्णालीमा अहिले पनि कायम छ । सामाजिक अन्धविश्वासका कारण कर्णालीका महिला छोरा जन्माउनैपर्ने बाध्यतामा छन् । तातोपानी गाउँपालिका २ की सरस्वती बुढाले जब पहिलो सन्तानको रूपमा छोरा जन्माइन्, परिवार र छिमेकीहरूले बाजागाजासहित स्वागत गरे । श्रीमान्लाई जहाँ भेटाए, त्यहि अबिर जात्रा पनि गरे ।