बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग डीएफआईडीले नेपाल राष्ट्र बैंकमार्फत वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई दिँदै आएको अनुदान यसै आर्थिक वर्षदेखि रोक्ने भएको छ । ‘चालू परियोजनामा खर्च हुन नसकेको र डीएफआईडीको नियमअनुसार फिर्ता लगी अन्य कार्यमा लगाउने गरिन्छ,’ नियोगकी नेपाल प्रमुख सराह सान्याहुम्बीले अभियानसँग भनिन् ।
नेपाल राष्ट बैंकले पाउँदै आएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गतको सहयोग आफ्नै अक्षमताका कारण गुुमाएको हो । डीएफआईडीका अनुसार केही वर्षदेखि बैंकको कार्यप्रगति सुस्ताउँदै गएको छ । कार्यक्रमको अवधिभित्रमा दिइएको सहयोग रकमको उपयोग हुने सम्भावना नदेखिएकाले सहयोग रोक्ने निर्णय गर्नुपरेको डीएफआईडीले बताएको छ । डीएफआईडीले विगत सात वर्षदेखि राष्ट्र बैंकलाई सहयोग गर्दै आएको थियो ।
यसरी सहयोग रोकिएको सूचना सार्वजनिक भएको दुई हप्ताभन्दा बढी भइसकेको छ तर राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारीहरुले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
विभागका एक निर्देशकले डीएफआईडीको तर्फबाट यस सम्बन्धमा औपचारिक जानकारी नआएकाले थाहा नभएको बताए । उनका अनुसार डीएफआईडीको औपचारिक पत्र कुरेर बसेको छ ।
राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्ले बैंकको नेतृत्वमा नै समस्या भएकाले सहयोगको सदुपयोग नहुने आशय व्यक्त गर्छन् । काफले भन्छन्, ‘अहिले केन्द्रीय बैंकका कार्यमा शिथिलता आएको र सोचअनुरूप गति लिन सकेको छैन । राजनीतिक हस्तक्षेप र समयमा गभर्नर नियुक्त हुन नसक्नाले पनि त्यसो भएको हुन सकछ । ’
वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६