सूचना नपाएकाबारे स्थानीय सरकारमा उजूरी बढी

राष्ट्रिय सूचना आयोगमा जनताको नजिकैका स्थानीय सरकारले सूचना नदिएका धेरै पुनरावेदन उजूरी आउन थालेका छन् । आर्थिक वर्ष २०७६/२०७७ मा आयोगमा एक हजार १३ वटा विभिन्न सार्वजनिक निकायले सूचना नदिएका पुरावेदन उजूरी दर्ता भएकामा ५३ प्रतिशत अर्थात् ५३१ वटा स्थानीय तहका विरुद्धमा आएको सचिव डा मुकुन्दप्रसाद पौड्यालले राससलाई जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा स्थानीय तहले सूचना दिएनन् भनी पुनरावेदन गर्नेको सङ्ख्या अझ बढी छ ।          आयोगमा आफू सचिव भई आएको पाँच महिने अवधिमै एक हजारभन्दा बढी पुनरावेदन उजूरी स्थानीय तहकै रहेको उहाँले सुनाउनुभयो । सार्वजनिक निकायसँग नागरिकले सूचना मागेको १५ दिनमा सूचना दिनुपर्ने व्यवस्था सूचनाको हकसम्बन्धी ऐन २०६४ मा छ । धेरै स्थानीय तहले यो व्यवस्था कार्यान्वयन नगरेको उजूरीको सङ्ख्याले देखाउने गरेको आयोगले जनाएको छ । सूचना अधिकारीले १५ दिनभित्र सूचना नदिएमा मागकर्तासम्बन्धित कार्यालय प्रमुखकहाँ जाने व्यवस्था गरिएको छ । यसरी सूचना माग गर्ने नेपाली नागरिकलाई कार्यालय प्रमुखले सात दिनभित्र सूचना दिनुपर्छ । सात दिनमा कार्यालय प्रमुखले पनि सूचना नदिएमा ३५ दिनभित्र आयोगमा पुनरावेदन गर्नुपर्ने कानूनी व्यवस्था छ । दिन नमिल्ने सूचना भए त्यसको लिखित जानकारी सूचना अधिकारी वा कार्यालय प्रमुखले निवेदकलाई दिनुपर्छ ।          गत आवमा दर्ता भएका पुनरावेदन उजूरीमध्ये २१ प्रतिशत गैरसरकारी संस्थाले सूचना नदिएको विषयमा थियो । यस अवधिमा दर्ता भएका पुनरावेदनमध्ये शिक्षा क्षेत्रका निकायले सूचना नदिएको १० प्रतिशत उजूरी छ । संस्थागत (निजी) विद्यालयले हामी सार्वजनिक निकाय होइनौँ भनी सूचना नदिने गरेको पुनरावेदन उजूरीसमेत आयोगमा दताए भएको छ ।

सम्बन्धित सामग्री

‍ती महरा, यी महरा : शक्तिको सञ्‍जालदेखि तस्करीको जञ्‍जालसम्म

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको राजनीतिक जीवन साढे चार दशक नाघ्‍यो । ६५ वर्षीय महराको चार दशक लामो राजनीतिक जीवन प्राय: शक्तिकै वरिपरि नै बित्यो । माओवादीमा सबैभन्दा बढी लाभको पद लिनेमा महरा अग्रपङ्क्तिमा आउँछन् । माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा पहिलो पटक सूचना तथ...

नवनियुक्त अर्थमन्त्री पुनले शिथिल अर्थतन्त्रलाई माथि उकास्न सक्लान् ?

काठमाडौं । मुलुकको अर्थतन्त्रको बाघडोर सम्हाल्ने जिम्मा माओवादी उपमहासचिव वर्षमान पुनको काँधमा आएको छ ।  नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्रीले बुधवार मन्त्रीपरिषद् विस्तार गर्दै अर्थमन्त्रीमा पुनलाई नियुक्त गरेका छन् । २०६४ सालबाट संसदीय यात्रा शुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए । पुन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन् । पुन यसअघि सहज परिस्थितिमा अर्थमन्त्री बनेका थिए । त्यतिबेलाभन्दा अहिले परिस्थिति भिन्न छ । खासगरी रुस–युक्रेन युद्धदेखि कोभिडसम्मले तहसनसहस बनाएको अर्थतन्त्र भर्खरै माथि उठ्न खोज्दैछ । निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने पुनको मुख्य जिम्मेवारीका रूपमा देखिएको छ भने चालू वर्षको बजेट कार्यान्वयन र आगामी आवको बजेट यथार्थपरक, गतिशील ल्याउने चुनौती मन्त्री पुनसँग छ ।   निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ कार्यक्रमको सट्टा विगतका कार्यक्रम कार्यान्वयनलाई प्राथिमकता दिने गरी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेका थिए । राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका आयोजनामा देखिएका समस्या समाधान गर्दै पर्याप्त बजेट दिने प्राथमिकतामा उल्लेख छ ।  निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउनेदेखि मल कारखाना खोल्नेसम्मका कार्यक्रम महतले समेटेका थिए । सत्ता समीकरणमा आएको परिवर्तनसँगै अर्थ मन्त्रालय अहिले पुनले सम्हालेका छन् । यो अवस्थामा अघिल्ला अर्थमन्त्रीको प्राथमिकता र सिद्धान्तलाई वर्षमानले कति अनुशरण गर्छन्, त्यसको संकेत भने विनियोजन विधेयकमा झल्कने छ । सत्ता समीकरणको कसरतका कारण सदनमा यसबारे छलफल हुन सकेको छैन ।  खासगरी महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आइतवारसम्म सरकारको हिसाब–किताब १ खर्ब २१ अर्ब ५९ करोडले घाटामा छ । सरकारले आइतबारसम्म ७ खर्ब ५२ अर्ब रुपैयाँ खर्च गर्दा ६ खर्ब ३० अर्बमात्र आम्दानी गर्न सकेको छ । यो आम्दानीमा राजस्व, अनुदान र अन्य आम्दानी समेत जोडिएको छ । सरकार घाटामा चलिरहँदा स्रोत व्यवस्थापन गर्न अधिक ऋणमा भर पर्नुपरेको छ ।  यसलाई व्यवस्थापन गर्नु अर्थमन्त्री पुनको प्रमुख चुनौती हो । सार्वजनिक खर्चमा यस वर्ष पनि सुधार देखिएको छैन । यस वर्ष साढे सात महीनामा पूँजीगत खर्च २४.२२ प्रतिशत मात्र भएको छ । चालु खर्च ४८.५४ प्रतिशत र वित्तीय व्यवस्थामा हुने खर्च ४०.६ प्रतिशत भएको छ । यसले सरकारको धेरै खर्च तलबभत्ता, सामाजिक सुरक्षा र ऋण भुक्तानीमा भएको देखिन्छ । अहिले विकास खर्च खुम्चिएको छ । राजस्व संकलन लक्ष्यको ४२.६ प्रतिशत मात्र भएको छ । बढ्दो चालू खर्चलाई कम गर्न अनावश्यक खर्च कटौती गनुपर्ने चुनौती अर्थमन्त्रीसामु छ । यो अवस्थामा उनले शिथिल अर्थतन्त्र उकास्न सक्लान् कि नसक्लान् ? प्रश्न उठेको छ ।  प्रधानमन्त्री दाहालको चाहना अनुसार कानुन नै संशोधन गरी बजेट तालिका नै छिटो शुरु गर्ने काम महतकै पालामा शुरु भयो । तर, आयोजनालाई गति दिनेतर्फ भने उति धेरै प्रगति देखिएन । आयोजना कार्यान्वयन पूर्वतयारीका काम कात्तिकभित्र सकी कार्यान्वयनलाई गति दिने घोषणा गरे पनि व्यवहारमा लागू हुन सकेन । यसलाई लागू गर्नसमेत पुनको भूमिका महत्त्वपूर्ण रहनेछ । सरकारले गर्न आटेको लगानी सम्मेलन, संस्थान सुधारदेखि खर्च प्रणाली सुधारसम्मको काममा अर्थमन्त्रीले प्रभावकारी काम गर्नुपर्ने जानकारको बुझाइ छ । गृहमा रविको पुनरागमन दाहाल सरकारको गृहमन्त्रालय संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाक्ने जिम्मा पाएका छन् । उनी यसअघि २०७९ पुसमा पनि गृहमन्त्री भएका थिए । ३२ दिन गृहमन्त्री बनेपछि आफ्नै कारण उनी बर्हिगमनमा परेका थिए । गत वैशाखमा भएको चितवन–२ को चुनावमा ५५ हजारभन्दा बढी मत ल्याएर उनले चुनाव जितेका थिए । सहकारी लघुवित्त पीडितको आन्दोलन चर्काइरहेका बेला लामिछाने गृहमन्त्री बनेका छन् ।  उनी र उनको पार्टीले रास्वपाले सत्ताबाहिर रहँदा सुशासन र भ्रष्टाचारको एजेन्डालाई जोडतोडले उठाउँदै आएका थिए । अब तिनै एजेण्डालाई लागू गर्ने तहमा लामिछाने पुगेका छन् । नयाँ समीकरण बनेसँगै गृहमा एमाले र रास्वपाबीच निकै ठूलो रस्साकस्सी चलेको थियो ।  दाहालले बुधवार गरेको मन्त्रीपरिषद् विस्तार अनुसार नेकपा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, पदम गिरी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारीमन्त्री छन् । यसैगरी भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, राजेन्द राई खानेपानीमन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वालाकुमारी साह कृषिमन्त्री छन । माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री पुनसँगै नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपप्रधान तथा गृहमन्त्री लामिछानेसँगै सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् ।  नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा शहरी विकासमन्त्री बनेका छन् । सरकारमा सहभागी हुनेबारे जनता समाजबादी पार्टीले समेत निर्णय लिएर दाहाल नेतृत्वको सरकारमा सहभागी भएको छ ।

अर्थतन्त्रमा रेट्रोफिटिङ

नेपाली कांग्रेसले विगतमा अर्थतन्त्रको सुधारमा ठूलो परिवर्तन ल्याएकाले विद्यमान संयुक्त सरकारमा अर्थ मन्त्रालय उसले लिएपछि दोस्रो चरणको सुधार कार्यक्रम आउनेमा अर्थजगत् आशावादी थियो । तर, त्यस्तो आशा अहिलेसम्म आशामै सीमित छ । अर्थ मन्त्रालय कांग्रेसको भागमा परेको छ र नेतृत्व डा. प्रकाशशरण महतले गरेका छन् । कोरोना महामारीदेखि संकटमा परेको अर्थतन्त्र सुधारमा भन्दा सरकारमा बस्नेहरूको जोड यतिखेर अर्ती उपदेश दिँदैमा बित्ने गरेको छ, जबकि यतिबेला गफ भन्दा काम गरेर देखाउन आवश्यक छ । अहिलेको जस्तो कामभन्दा कुरा बढी गर्ने शैली नरोकिने हो भने अर्थतन्त्रको सुधारमा मुश्किल पर्ने देखिएको छ । जुन कुरा भदौ महीनाका लागि बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको ब्याजदरबाट पुष्टि हुन्छ । उद्योगी, व्यवसायीले बैंकको ब्याजदर घट्नुपर्छ भन्ने माग राखिरहेको बेला उनीहरूको माग पूरा हुने देखिँदैन । किनकि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर नै बढाएका छन् । यसले ब्याजदर बजारले नै निक्र्यौल गर्छ भन्ने कुरा पुन: प्रमाणित भएको छ ।  दैनिक प्रशासन चलाउनेभन्दा बढी क्षमता भएको सरकार नेपालले निकट भविष्यमा पाउला जस्तो छैन । त्यसैले अर्थतन्त्रलाई अहिले रेट्रोफिटिङ गर्न अनिवार्य छ । यसको मुख्य काम नै माग बढाउने, जनता र उद्योगी सबैको मनोबल बढाउने हो । यति मात्र होइन बैंकमा तरलता फालाफाल छ । उद्यमीहरू उधारो नउठेर समस्यामा परेका छन् । बजारमा सामान किन्ने ग्राहक छैनन् । उद्योगहरूले आफ्नो उत्पादन क्षमता उपयोगमा ल्याउन सकेका छैनन् । यसो हुनुको कारण सबै क्षेत्रमा व्याप्त निराशा नै हो । अर्थतन्त्रमा लागेको रोगको उपचार गर्ने जिम्मेवारीमा बसेका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर विदेशी विनिमय सञ्चितिमा आएको सुधार हेरेर दंग छन् । त्यो सुधार न अर्थमन्त्रालय न राष्ट्र बैंकको नीतिका कारण आएको हो । अर्थतन्त्र मन्दीमा गएको बेला सरकारले थुप्रै काम गर्नुपर्ने हुन्छ । बजारको मनोबल बढाउनु महत्त्वपूर्ण काम हो । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले केही दिनअघि अर्थतन्त्रको विद्यमान अवस्थाबारे धारणा राख्दा अथर्मन्त्री रिसाएका थिए । उनले नकारात्मक कुराले मनोबल घट्ने भन्दै त्यसो नभन्न भनेका थिए । अर्थतन्त्र सुधारका लागि मनोबल बढाउनु अति आवश्यक हुन्छ । तर, अहिले सरकारकै अकर्मण्यताका कारण बजारको मनोबल माथि उठ्न सकेको छैन । यस्तो भाष्य त सरकारले नै तयार पारेको हो । बजारको मनोबल उठ्न सरकारले काम गर्नुपर्छ, निजीक्षेत्रलाई विश्वासमा लिनुपर्छ । मनोबल कति खस्केको छ भनेर हेर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएर हेरे पुग्छ । ठूलो रकम खर्चेर दैनिक ३ हजार हाराहारीमा युवा विदेश गइरहेका छन् । स्वदेशमा लगानी गर्ने वातावरण हुन्थ्यो भने यसरी विदेशिनु पर्दैनथ्यो । केही व्यक्ति अवसरको खोजीमा विदेशिएका होलान् । तर, अधिकांश बाध्यताले विदेश गएका हुन् । सरकारी अधिकारीहरू भने स्वदेशमा सम्भावना नदेखेर विदेश गएका तिनै युवाले पठाएको विप्रेषण वृद्धि भएको तथ्यांक पेश गर्दै अर्थतन्त्रमा सुधार आयो भनेर बसेका छन् । सरकारी निकायलाई सूचना प्राप्त गर्ने विभिन्न स्रोत भएकाले अर्थतन्त्र सुधार भए/नभए उनैलाई अझ बढी थाहा हुनुपर्छ । विभिन्न सूचकले अर्थतन्त्रमा संकट परेको देखाएको छ । डिलमा गइसकेको अर्थतन्त्रलाई सुधार गर्न अब टालटुले कुरा गरेर मात्र नहुने भएकाले तत्काल पुन: सम्बलीकरण अर्थात् रेट्रोफिटिङ गर्न आवश्यक छ । यथार्थको धरातलमा टेकेर समस्याको जरासम्म पुगी तिनको निदान गर्नुपर्ने हुन्छ । उत्पादनमूलक उद्योग नबढ्नु, कृषि उत्पादनसमेत आयात गर्नुपर्ने अवस्था आउनु, कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान नबढ्नु र सेवाक्षेत्रको योगदान बढी हुनुजस्ता कुराले अर्थतन्त्र गम्भीर समस्याको भुँवरीमा फसेको देखिन्छ । सरकार कर उठाउन जान्ने तर विकास निर्माणमा खर्च गर्न नसक्ने हुँदा समस्यालाई झनै खराब बनाइरहेको छ । त्यसैले अहिले अर्थतन्त्रमा ठूलो संरचनात्मक परिवर्तनको खाँचो छ ।तर, सरकारले त्यस्तो संरचनात्मक परिवर्तनको आवश्यकता देखेको पाइँदैन । देखे पनि सरकारमा त्यस्तो परिवर्तन ल्याउने ल्याकत छैन । दैनिक प्रशासन चलाउनेभन्दा बढी क्षमता भएको सरकार नेपालले निकट भविष्यमा पाउला जस्तो छैन । सरकारको मुख्य काम माग बढाउने, जनता र उद्योगीको मनोबल बढाउने हो । त्यसो गर्न सकिए अर्थतन्त्रमा अहिले देखिएको भ्वाङ टाल्न सकिन्छ । अन्यथा भोलि अर्थतन्त्र सम्हाल्नै नसक्ने अवस्थामा नपुग्ला भन्न सकिँदैन ।

‘ओली, प्रचण्ड र माधवले समाधान दिने जमाना गयो’

अहिले त संचार र सूचनाको बाढी, आँधीहुरी आएको छ । एकप्रकारले सूचना क्रान्ति छ । अब समाजको समस्या देख्ने काम कम्युनिष्टको मात्रै रहेन । कम्युनिष्ट पार्टीमा भएको मान्छेले जति समस्या देख्छ, त्यत्तिकै पार्टीमा नरहेको स्वतन्त्र र सामान्य साक्षर मान्छेले पनि देख्ने भए ।

चाकडी र भनसुनबाटै उदाएका मरासिनी : राज्यबाट लाभ लिनेमा पहिलो, काम सधैं विवादित !

२०७४ सालको वैशाख अन्त्यतिर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का आर्थिक सल्लाहकार रहेका श्रीराम पौडेलले आफ्ना ज्वाईंकै लागि भनेर न्यूयोर्क कन्सुलेट अफिसमा सहसचिवको दरबन्दी सिर्जना गर्न लगाए। परराष्ट्रको उपसचिवबाट काम चलिरहेको कन्सुलेट अफिसमा जागिर खाने 'ज्वाईंराजा'को इच्छा भएपछि पौडेलले प्रचण्डमार्फत त्यसअघि नभएको पद सिर्जना गरेर राज्यकोषबाट मासिक दशलाख भन्दा बढीको व्ययभार थपे । हुलाकमा शाखा अधिकृत हुँदा भनसुनमै जर्मनीमा अध्ययन गर्ने मौका पाएका ती 'ज्वाईंराजा' आफ्नो स्वार्थका लागि जो शक्तिमा छ, उसैलाई चिल्लो घस्न जान्ने प्रवृत्तिकै कारण राजस्वको उपसचिव हुँदा पनि तीन वर्ष सरकारी खर्चमा अष्ट्रेलिया पढ्न जाने मौका पाएका थिए । ज्वाईं-जेठान, मामा-भान्जा, काका-भतिज जस्ता निकै धेरै साइनो लगाएर आफ्नो ग्रह दाहिना गराउन खप्पिस ती ज्वाईंराजा अरू कोही होइनन्, अनधिकृत रूपमा दुई जना व्याक्तिलाई अर्थमन्त्रालय छिराएर राजश्वका दर हेरफेर गराउने र त्यसको सीसीटीभी फूटेज डिलेट गर्न लगाउने तत्कालीन अर्थमन्त्री शर्माका 'मतियार' अर्थसचिव मधुकुमार मरासिनी हुन् । आफ्नो स्वार्थका लागि शक्तिकेन्द्रको चाकडी गरिहाल्ने स्वभावका मरासिनी कर्मचारी वृत्तमा 'विशेषाधिकार प्राप्त' मानिन्छन् । उनी भनसुनकै आधारमा सार्क विकास कोषको संचालक समितिको अध्यक्ष भइसकेका छन् भने नेपालका तर्फबाट एसियाली पूर्वाधार लगानी बैंकको प्रमुख वार्ताकार पनि बनेका थिए । भनसुन र नाता सम्बन्ध लगाएर विश्व बैंकको बोर्डमा नेपालले पाउने पालोमा तीन वर्षका लागि प्रतिनिधित्वसमेत गरेका मरासिनी २०७४ सालमा न्युयोर्कको कन्सुलेट अफिसमा आफ्नै लागि सिर्जना गरिएको दरबन्दीमा बसेर करोडौं रुपैयाँ राज्यकोषलाई भार थप्ने कर्मचारी हुन् ।न्यूयोर्क जानुअघि मरासिनी बजेट महाशाखाका हाकिम थिए । माओवादी केन्द्रलाई पैसा जुटाइदिने मुख्य स्रोत बनेका मरासिनीलाई त्यसैको उपहारस्वरूप न्यूयोर्क पठाउन लागिएको हल्ला त्यतिबेलै चलेको थियो । सरकारी जागिर खाएर विदेशमा १३ वर्ष भन्दा बढी बस्न पाउने एकमात्र कर्मचारीका रूपमा मरासिनीलाई लिइन्छ । अर्थमन्त्रालयका एक अधिकृतले भने, 'खै कसैले त भाग्यमै लेखेर ल्याएका हुने रहेछन् क्या हो, मधु सरजस्तो जताततै लाभै लाभ भएको कर्मचारी मैले आजसम्म देखेको छैन ।'२०६५ सालमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका बाबुराम भट्टराईका सल्लाहकार रहेका श्रीराम पौडेलको भान्जी ज्वाईं भएकैले मरासिनीले विश्व बैंकमा तीन वर्षका लागि नेपालको प्रतिनिधित्व गर्न पाएका हुन् । त्यहाँबाट फर्केपछि मरासिनीलाई सहसचिवमा बढुवा गरियो । सहसचिव हुँदा पनि मालदार मानिने राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागमा माथिल्लै तहको जिम्मेवारी उनले पाएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका वर्षमान पुनलाई पनि दाहिना बनाउन सफल मरासिनीले आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी लिन सफल भए । पटकपटक लाभ लिएका मरासिनीलाई ओली नेतृत्वको सरकारले योजना आयोग सरुवा गरेपनि त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्नेबित्तिकै पुन: बजेट महाशाखा छिरे । राजश्व अनुसन्धान विभाग र बजेट महाशाखामा रहँदा मरासिनीमाथि वित्तीय अनुशासन ध्वस्त पारेको आरोप लागेको थियो । विलासी जीवन जिउन रुचाउने मरासिनीले बजेट महाशाखामा रहँदा बहालवाला प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिझाएर आवश्यक नै नपर्ने ठाउँमा बजेट हाल्न दबाब दिने गर्दथे । उनले प्रचण्डकी बुहारी बिना मगरको निर्वाचन क्षेत्रमा बजेटमै नभएको करोडौं रुपैयाँ बराबरको योजना पार्न लगाएका थिए । राज्यबाट पटक-पटक लाभ लिएका र छिटै प्रलोभनमा पर्ने स्वभाव भएकैले जनार्दन शर्मा अर्थमन्त्री बनिसकेपछि तत्कालीन सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुर्याएर मरासिनीलाई सचिवका रूपमा अर्थमन्त्रालय भित्र्याइएको थियो।'राज्यद्रोह'कै आरोपमा छानबिन गर्नुपर्ने आवाज उठेपछि राजीनामा दिएका शर्मामाथि छानबिन गर्न यतिबेला ११ सदस्यीय संसदीय समिति गठन भएको छ । उक्त समितिले अर्थमन्त्रालयको निरीक्षण र सम्बन्धित कागजपत्र मागेर अध्ययन थाल्ने तयारी गरेको छ । सचिव मरासिनी भने शर्मासँगको संगतका कारण आफूमाथि लागेको दाग मेट्न यतिबेला शक्तिकेन्द्रमा दौडधूप गरिरहेका छन् ।बजेट सार्वजनिक हुनुअघि अर्थ मन्त्रालयमा एकजना पूर्व सुब्बा रघुनाथ घिमिरे र अर्का भारतीय नागरिक उपेन्द्र हैरावतलाई शर्माले मन्त्रालय भित्र्याएर सचिव मरासिनीकै उपस्थितिमा राजश्वका दरहरू हेरफेर गर्न लगाए । सीमित व्यापारी र व्यवसायीलाई पोस्न करका दरहरूमा कैंची लगाउने क्रममा शर्माका मतियार बनेका मरासिनी शर्मा मन्त्रालयबाट राजीनामा दिएर निस्केपछि प्रधानमन्त्री शेरबहादुर देउवाको जिम्मेवारीमा थपिएको अर्थमन्त्रालयका फाइल बोकेर दिनहुँ बालुवाटार जाने र आउने काममा सीमित भएका छन् ।तत्कालीन अर्थमन्त्री शर्माले सीसीटीभी फूटेज डिलेट गर्नेबारे लिएको सुझावपछि मरासिनीले सूचना प्रविधि शाखाका एक कर्मचारीलाई ठाडो आदेश दिएर फूटेज डिलेट गर्न लगाएको अर्थ मन्त्रालय स्रोतको दाबी छ । त्यतिबेला शर्मा र आफूविरुद्धको प्रमाणलाई जडैदेखि खत्तम गर्ने प्रयास गरेका मरासिनीमा समितिको छानबिन शुरू भएपछि भने छट्पटी बढेको छ।यस अगाडी :- सीसीटीभी प्रकरणमा डामिने डरमा सचिव: पहिला 'गो अहेड', अहिले शक्ति केन्द्रसँग हारगुहार

युनिटी, नेटवर्किङ व्यवसाय र निरीह राज्य

६ लाखभन्दा बढी सर्वसाधारण जनतालाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई झुक्याउन सफल युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरू अझै पक्राउ परेका छैनन् । मुलुकका विभिन्न स्थानमा कार्यालय खोलेर १० अर्ब रुपैयाँ उठाएको युनिटीलाई ठगी मुद्दामात्र लगाउनु  उसलाई  उनमुक्ति दिनुसरह हो । बैंकहरूले जस्तै निक्षेप संकलन गर्ने, बिमा कम्पनीले जस्तै पाेलिसी बेच्ने  र नेटवर्किङ बिजनेसका नाममा अवैध ढंगमा रकम संकलन गर्ने कार्य  यो संस्थाले गरेको छ । तर ती क्षेत्रका नियामक निकायको अनुगमनभन्दा बाहिर रहेर त्यस्तो कार्य गरिएको छ । सरकारले नियामक निकायसम्बद्ध कानुनहरूका आधारमा कसुर स्थापित गर्नको साट्टो मुलुकी ऐनकाो ठगीको महलअनुसार कारबाही गर्ने बहाना बनाएको छ । यसले सरकारमा बस्नेहरू युनिटी सञ्चालकहरूलाई बचाउन लागिपरेको आशंका जन्माएको छ । उक्त संस्थाले न त निक्षेप संकलन कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंक सँग स्वीकृति लिएको छ न त एस्योरेन्स सम्बन्धी काम गर्न बिमा समितिसँग नै । त्यसकारण नेपालराष्ट्र बैंक , बिमा समिति तथा राजस्व प्रशासनको समन्वय र प्रहरीको सक्रियतामा युनिटीका सञ्चालकहरूमार्फत छानबिन थाल्नपर्छ । तर उल्लिखित निकायहरूको एउटा छुट्टै र शक्तिशाली समिति बनेर तत्काल खोजबिन थाल्नु त परै जाओस् सम्बद्ध सरकारी निकायहरू कारबाही गर्नेबारे एकमतसम्म पनि हनु सकेका छैनन् । गृह मन्त्रालयले तिनलाई पक्राउ गर्न आदेश दिएको बताएको छ । प्रहरीसँग युनिटीका जिम्मेवार पदािधकारीले प्रयोग गर्दै आएको मोबाइललगायत महत्वपूर्ण  सूचना पनि प्रहरी प्रशासनसँग छ । यसबाट सरकारको उच्च तहमा बस्नेहरूसम्म आराेपितहरूको बलियो पहुँच रहेको बुझ्न कठिन छैन । (सम्पादकीयबाट) अंक ३८, २०६७, जेठ १०–१६

सबैभन्दा धेरै गुनासो नागरिक एप नचलेकाेमा

कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ ।हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्

सरकारप्रति नागरिकका गुनासै गुनासा !

कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनास...

‘नागरिक एप’बारे आवश्यक सुझाव दिन प्रयोगकर्तासँग मन्त्री गुरुङको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारद्वारा सञ्चालित ‘नागरिक एप’ परीक्षणको क्रममा रहेकाले थप गर्नुपर्ने सेवा सुविधा तथा सुधारबारे सुझाव दिन नागरिकहरुमा आव्हान गर्नुभएको छ । डिजिटल नेपाल अभियानले हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउने कडी भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आज सो आव्हान गर्नुभएको हो । सरकारी कामलाई पारदर्शी बनाउन र नागरिकको हातहातमा सरकारी सेवा पु¥याउन सरकारले गत शुक्रबार नागरिक एप परीक्षणकोरुपमा सञ्चालनमा ल्याएको थियो । नागरिक एप सञ्चालन भएको आज चार दिनमा २ लाख ३३ हजार ३४ जनाले एप डाउनलोड गरेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री गुरुङको प्रेस संयोजक सन्तोष खड्काकाअनुसार एप सञ्चालन भएपछि दैनिक ५८ हजार २५८ जनाले एप डाउनलोड गरिरहेको बताउनुभयो । नागरिक एप डाउनलोड गरेपछि त्यसबाट स्थायी लेखा नम्बर लिन सकिने, शैक्षिक विवरण प्राप्त गर्न सकिने, नागरिक लगानीकोषमा जम्मा भएको रकम र ऋणबारे जानकारी पाउन सकिने, सञ्चयकोषमा भएको जम्मा रकम तथा ऋणबारे जान्न पाइने, सामाजिक सुरक्षा कोषबारे जानकारी, मतदाता परिचयपत्र बारे जानकारी, हेलो सरकारमा गुनासो गर्न पाइने, राहदानी तथा नागरिकता बारे जानकारी पाउन सकिने सुविधा राखिएको छ । एपको प्रयोगले नागरिकको खर्च जोगिने, समयको बचत हुने तथा सरकारी कामकाज समेत पारदर्शी र भरभर्दो हुने उद्देश्यले सरकारले माघ २ गते नागरिक एप परीक्षणका लागि सञ्चालनमा ल्याएको थियो । ‘सञ्चार र सूचना प्रविधिको टेवाः हातहातमै सरकारी सेवा’ नाराकासाथ शुरु भएको एपप्रति विशेषगरी युवाहरुको आकर्षण बढी देखिएको मन्त्रालयको भनाई छ । नागरिक एप लागु भएपछि शुरुमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेको विवरणलाई प्रयोग गरी नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । सरकारले आगामी दिनमा राष्ट्रिय परिचयपत्र समेतलाई त्यसमो जोड्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । एप डाउनलोडमा सामान्य कठिनाई आएको प्रयोगकर्ताबाट गुनासो आएपनि प्रयोगकर्ताको आफ्नै नामको सीम नहुँदा विवरण प्रकाणिकरणमा जटिलता देखिएको मन्त्रालयको भनाई छ । नागरिक एप सही ढङ्गले सुचारु गर्न प्रयोग कर्ताको आफ्नै नामको सीमकार्ड हुँदा सहज हुने सरकारले भनेको छ । प्राविधिक टोलीले सो जटिलता सुधार गर्नमा काम गरिरहेको जनाएको छ ।