दैलेखको आठबीस नगरपालिकाका एक युवा ३ महिनादेखि मजदुरीका लागि भारतको नयाँदिल्लीमा छन् । गर्त वर्ष इजरायल जान भन्दै उनी सुर्खेतस्थित कोहिनुर मल्टी टेक्निकल कलेजको होस्टेलमा झण्डै ३ महिना बसे । उक्त कलेजलाई २ लाख रुपैयाँ पढाइ शुल्क बुझाएका उनी अहिले ऋण तिर्ने पैसा कमाउन भारत गएका हुन् । ‘इजरायल जान पनि पाइएन, पैसा फिर्ता माग्दा विभिन्न धम्की पनि आए,’ उनले टेलिफोनमा भने, ‘विभिन्न तरिका अपनाउँदा पनि न्याय नपाएपछि ऋण लिएको पैसा तिर्न भारत पसेको हुँ ।’