वैशाख ५, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू.११ करोड ३४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १६ करोड ६१ लाख पुगेको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत र सञ्चालन नाफा ६१ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. ९६ करोड ४४ लाख रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १५ करोड २४ लाख र रिटेण्ड अर्निङमा रू. १७ करोड ३९ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.११ करोड ८२ लाख रहेको छ ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ९७, मूल्य आम्दानी अनुपात ३१ दशमलव ४१ गुणा र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव १७ र तरलता अनुपात ४ दशमलव ५६ प्रतिशत रहेको छ ।