तेस्रो त्रैमासमा फरवार्ड माइक्रोफाइनान्सको नाफा ९६.१३% बढ्यो

वैशाख २८, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९६ दशमलव १३ प्रतिशत बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तुलनामा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।  उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ३६ करोड १५ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ७० करोड ९१ लाख पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ८४ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. १ अर्ब ४ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ५६ करोड ८१ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ६४ दशमलव ४६ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० दशमलव २९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २४ दशमलव ६३ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा १ दशमलव ८६ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १११ दशमलव ९७, मूल्य आम्दानी अनुपात १९ दशमलव ८७ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३०५ दशमलव २२ छ ।  कम्पनीको सापटी १५ दशमलव ९५ प्रतिशत, निक्षेप संकलन १९ दशमलव १५ प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ८० प्रतिशत बढेको छ । हाल कम्पनीको चुक्तापूँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ३५ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीको चुक्तापूँजी ६२ करोड ५५ लाख रुपैयाँ थियो ।