जसरी भुइँचालो (अर्थक्वेक) हठात् आउने ‘विपत्ति’ होइन, यो भूगर्भका ‘प्लेट’ हरूको निरन्तर दबाबपछि हुने कम्पन हो, यो पृथ्वीको नियमित र अनुमानित प्रक्रिया पनि हो, त्यसै गरी मानव समाजले पनि सामाजिक समूहहरूबीचको निरन्तर द्वन्द्व र दमनको दबाबपछि बेलाबेला ठूला ‘कम्प’ हरू सृजना गर्छ । कहिले शासक वर्ग/समूहको अत्याचार र हिंसाका रूपमा अनि कहिले शोषित/दलित वर्गको कठोर प्रतिकारका रूपमा घटित हुने त्यस्ता परिघटना वा कम्पहरू नै प्रकारान्तरमा युग परिवर्तनका सूचक र मानकसमेत हुने गर्छन् ।