काठमाडौं । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा घोषणा भएको कार्यक्रम कार्यान्वयन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले प्रक्रिया अघि बढाएको छ । कम्पनी दर्ता र खारेजी सहज बनाउने बजेटमा उल्लेख भएअनुसार कार्यालयले सम्बन्धित कम्पनीलाई विभिन्न निर्देशन दिएको हो ।
शुक्रवार सूचना तथा निर्देशन जारी गर्दै कार्यालयले कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने प्रक्रिया शुरू गरिएको जानकारी दिएको हो । आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन गर्न भन्दै सरकारले बजेटको बुँदा ७० मा ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ’ भनी उल्लेख गरेको छ । सोही कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यालयले ६ बुँदे निर्देशन जारी गरेको छ ।
कार्यालयले कम्पनी सम्बद्ध विभिन्न सूचना, जानकारी एवम् परिमार्जित तथा सम्पादित कागजात माग गरेको छ । जारी निर्देशनअनुसार कम्पनीहरूले पत्राचार गर्न सकिने विस्तृत ठेगाना अद्यावधिक गर्नुपर्नेछ । कम्पनीको इमेल ठेगाना अद्यावधिक गर्नुपर्ने र त्यस्तो गर्दा पासवर्ड कम्पनीको आधिकारिक व्यक्तिको नियन्त्रणमा राख्ने वा स्वयम् प्रयोग गर्ने खुलाउन र सञ्चालकहरूको राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न कार्यालयले निर्देशन जारी गरेको छ ।
यस्तै कार्यालयबाहेक अन्य सरकारी निकायहरूबाट चुस्तदुरुस्त सेवा प्राप्त गर्न पनि अब कम्पनीको प्रबन्धपत्र, नियमावली, शेयर लगत लगायतका कागजात एकीकृत गरी विद्युतीय सूचना प्रणालीमा अपलोड गर्न पनि निर्देशन दिइएको छ । कार्यालयमा भीडभाड कम गर्न आवश्यक विवरणहरू क्रमशस् अभौतिकीकरण गर्न पनि कार्यालयले निर्देशन दिएको छ । यस्तै, कम्पनीका सक्कल फाइल सम्बन्धित कम्पनीमा नभएको र अनधिकृत व्यक्तिको कब्जामा रहेको सूचना प्राप्त भएको भन्दै कार्यालयले तत्काल फिर्ता गर्न पनि सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।