भदौ १०, काठमाडौं । ६ ओटा कम्पनीले १ करोड ५६ लाख ४४ हजार ३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।
शिखर इन्स्योरेन्स, एक्सेल डेभलपमेण्ट बैंक, कर्पोरेट डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् ।
६ ओटा कम्पनीमध्ये एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पनि पाएको छ । कम्पनीले बोर्डबाट साउन ३१ गते हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति पाएको हो ।
कम्पनीले रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाख भन्दा बढी पुग्नेछ ।
त्यसैगरी, बाँकी पाँच ओटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् । सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले १० बराबर ३ को अनुपात रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ सम्पन्न गराइसकेको छ । इक्रा नेपालले इक्रा एनपी आर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कमपनीले समयमा आफ्ना दायित्व पूरा गर्न सक्ने जनाउँछ । कम्पनीको के्रडिट रिस्क कम रहेको उल्लेख गरेको छ ।
त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकले ३० लाख कित्ता, समृद्धि फाइनान्सले २७ लाख २९ हजार ७०५ कित्ता, नारायणी डेभलपमेण्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता र छ्याङदी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
स्रोत : नेपाल धितोपत्र बोर्ड